१५ लाखको लगानी, ५० करोडको व्यापार, यसरी गर्छ काम

RONB Update - Reporter
0
२९ फागुन, काठमाण्डौँ (Source: Techpana): कोलिन पावेलले एकपटक भनेका थिए, ‘सफलताकाे पछि कुनै पनि राज छैन । यो त केवल कडा परिश्रम, तयारी र असफलताको सिकाइबाट सम्भव भएको हो ।’ यही महान् वाणी वसन्त घर्तीको जीवनमा निकै मेल खान्छ । प्रविधिसँग नजिकिँदै जाँदा उनलाई धेरैपटक असफलता मात्र हात लागिरह्यो । त्यसबाट कत्ति पनि विचलित नभई सिकाइका रूपमा हेरेर लगातार आफ्नै गतिमा अघि बढेका घर्ती आज करोडौँका मालिक भएका छन् । प्रविधिले फेरिदिएको उनको सफलताको गाथा निकै रोचक छ । उनी साविकको पाङ्गा गाउँपालिका सुर्खेतमा जन्मिएका हुन् । घर्ती पाँच वर्षको हुँदा परिवार छिन्चुमा बसाइँ सर्‍याे ।

ग्रामीण भेग त्यसैमा पहाडी क्षेत्र, विकास र प्रविधि खासै मौलाइसकेको थिएन । अझ त्यसैलाई सपना बनाएर अघि बढ्ने मान्छे विरलै भेटिन्थे । गाउँमा माध्यमिक शिक्षा उत्तीर्ण गरिसकेपछि काठमाडौं जाने लहर नै बसिसकेको हुन्छ । जागिर पाउने उद्देश्यले घर्ती पनि आफ्ना माइलो बुवाको छोरासँग काठमाडौं पसे । न कोही आफ्ना मान्छे, न त कसैको सहयोग । काठमाडौंमा जागिर पाउनै गाह्रो । पाइसके पनि आफूलाई उपयुक्त लाग्ने । उनले कतैबाट अनलाइन जब पनि हुन्छ भन्ने थाहा पाए । 

त्यसपछि एक हप्ता सञ्चालन हुने पीटीसी एडको तालिम लिन थाले । उनले त्यही तालिम लिने क्रममा पहिलो पटक कम्प्युटर छोएका थिए । कम्प्युटर र आईटीको कुनै पनि पृष्ठभूमि नभएका घर्तीका लागि अनलाइनका काम निकै जटिल थिए । तर केही न केही त गर्नु नै थियो । त्यसैले तालिममा सिकेको काम गर्न थाले । उनले अपनाएका शैलीहरू त्यो अवस्थामा गलत भएको भए पनि हरेक परीक्षणपछि केही न केही शिक्षा मिलिरहेको थियो । सन् २०१३ तिर अनलाइनबाट कसरी पैसा कमाइन्छ होला भनेर खोजी गर्न थाले । आम्दानी खासै केही हुँदैन थियो । तर अनलाइनबाटै पनि कमाइ हुन्छ भन्ने कुरा थाहा पाउनु नै उनको सफलताको एउटा पहिलो विन्दु बनिदियो । स्वदेशमै बसेर अनलाइनबाट कमाइ गर्न सकिने कुराले नै घर्तीलाई यस कार्यतिर आकर्षित गर्‍यो । अन्य थुप्रै मानिसले त्यसैमा पाइरहेको सफलताले उनलाई अनलाइनबाट राम्रै कमाइ गर्न सकिन्छ भन्ने विश्वास जाग्यो । परिवारको साथ र आफूमा भएको तमाम आत्मविश्वासले उनी त्यसैमा अडिग भइरहे ।

15 Lakh Lagani 50 Karod Ko Byapar

सन् २०१३ तिर नै उनी माइक्रो वर्कर्समा संलग्न भए । तीन महिनाको अवधिमा १० डलर कमाइ भयो । त्यतिबेला यो रकम नेपाली हजार रुपैयाँको हाराहारीमा थियो । पैसा थोरै थियो तर त्यसको परिणाम निकै नै धेरै थियो । त्यही सानो परिणामले उनलाई अनलाइनबाट कमाइ गर्न सकिन्छ भन्ने कुरामा प्रेरित गर्‍यो । त्यसपछि उनी इमेल मार्केटिङ, स्लो एड्सतिर आकर्षित भए । स्लो एड्स भनेको यस्तो प्रकारको विज्ञापन कार्यक्रम हो । जसमा एउटा व्यक्तिले धेरै इमेलहरू संकलन गर्छ र संकलन भएका इमेलमा उनीहरूलाई कम्पनीका विज्ञापन पठाउँछ ।

उनले यो तरिका धेरै पहिले फेसबुक प्रयोग गरेपछि थाहा पाएका थिए । फेसबुकमा उनी देश विदेशका ठूला ठूला मार्केटरहरूलाई पच्छयाउन थाले । उनीहरूले कसरी काम गर्छन् वा मार्केटिङ कसरी गर्छन् भन्ने जान्ने मौका मिल्यो । मेल मार्केटिङको बारेमा थाहा पाइसकेपछि उनी त्यसैमा सक्रिय रूपमा लाग्न थाले । विज्ञापन गरिदिने मान्छेले मेलमा भएका क्लिकका आधारमा पैसा पाउँछन् । त्यो बेला घर्तीसँग ४० हजारभन्दा बढी इमेलहरू थिए । उनले पठाएका मध्येबाट विज्ञापनमा जति क्लिक हुन्थ्यो उनलाई त्यही अनुसारको पैसा आउँथ्यो । यसबाट राम्रो हुने नदेखेपछि त्यसबेला इमेल मार्केटिङमा लाग्नेहरू ड्रप शिपिङतिर लाग्न थालेका थिए ।

उनकै समूहका पनि कतीले इमेल मार्केटिङ झन्झटिलो लागेपछि ड्रप शिपिङतिर लागेका थिए । त्यो समयमा ड्रप शिपिङ भर्खरै उदाइरहेको थियो । ड्रप शिपिङमा लाग्नेहरू धेरैले राम्रै आम्दानी गरिरहेका थिए । उनकै साथीहरूले पनि एक दुई वर्षमा लाखौंको व्यापार गरिसकेका थिए । साथीहरूको सुझाव र त्यसमा आफ्नो भविष्य राम्रो देखेपछि घर्ती ड्रप शिपिङतर्फ आकर्षित भए । आफूलाई ड्रपशिपिङमा अगाडि लग्न उनी साथिका सुझाव पछ्याउँदै गए । सन् २०१६ मा वसन्त घर्ती ड्रप शिपिङ गरिरहेका एक इजरायलका साथीलाई भेट्न पहिलो पटक सिङ्गापुर गएका थिए ।

उनका साथी त्यो समयदेखि नै ड्रप शिपिङमा एपहरू बेचेर राम्रो आम्दानी गरिरहेका थिए । उनले इजरायलका साथीसँग एक हप्ता बसेर ड्रप शिपिङका बारेमा अझ विस्तृत रूपमा सिक्ने मौका पाए । सामान्य कुरादेखि ड्रप शिपिङ गर्दा आइपर्ने सम्पूर्ण कुराबारे उनका साथीले घर्तीलाई प्रष्ट बनाए । ड्रप शिपिङमा लागेका नेपालीहरू त्यो समयदेखि नै विदेशमा बसेर काम गरिरहेका हुन्थेँ । घर्तीलाई ड्रप शिपिङ नै गर्नु थियो, तर नेपालमा बसेर । नेपालमा बसेर ड्रप शिपिङमा लागिरहन्छु भन्नुमा निकै चुनौती थियो ।

नेपालमा अन्तर्राष्ट्रिय भुक्तानीका माध्यम नभएकाले ड्रप शिपिङ निकै जटिल थियो । यसका बाबजुत पनि विदेशमा बस्ने एक साथीसँग घर्तीले अन्तर्राष्ट्रिय भुक्तिको माध्यम पेपाल अकाउन्ट, स्ट्राइप आईडी र बैङ्क अकाउन्ट सहयोग ‍मागे । उनले तिनै साथीको अकाउन्ट प्रयोग गरेर ड्रप शिपिङ सुरु गरे । बिजनेस लाइसेन्स साथीको नाममा भएकाले कानूनी रुपमा उनी आफ्ना साथीको कर्मचारी जस्तो भएर काम गरिरहेका थिए ।

सुरुवातीमा सबै कुरा आफैसँग हुनुपर्छ भन्ने हुँदैन । उनी, इच्छा भए जहाँबाट पनि सुरुवात गर्न सकिन्छ भन्ने कुराको जल्दोबल्दो उदाहरण बनेका छन् । उनलाई आफ्ना ड्रप शिपिङमा आवश्यक सम्पूर्ण अकाउन्ट दिने साथी स्विडेनमा बस्थे । तर, घर्ती भने नेपालमा बसेर ड्रप शिपिङको व्यापार सुरु गरिरहेका थिए । यस अर्थमा उनको व्यापार स्विडेनदेखि चलिरहेको थियो । उनी २०१७ को सुरुवातीमा ड्रप शिपिङमा औपचारिक रूपमा सक्रिय भएका थिए । साथीहरू त्यस क्षेत्रमा अघि भइसकेको देखेर उनलाई आफू पछि परेको अनुभव भयो । त्यसपछि उनी दिनरात त्यसैमा केन्द्रित भएर लागी रहे ।

२०१७ को मध्यतिर उनी आफ्नो स्टोर बनाउन सफल भए । सुरुवातीमा त्यस क्षेत्रमा खासै राम्रो उपलब्धि भएन । ‘म त्यसबेला ड्रप शिपिङको क्षेत्रमा पूर्ण रूपले नयाँ भएकाले नयाँ सामान परीक्षण गरिरहेँ, जसले गर्दा परणाम पाउन सकेको थिएन,’ उनले थपे, ‘त्यसबेला मैले अञ्जानमा साना साना गल्तीहरू गरिरहेको थिएँ । तर, हरेक परीक्षणपछि केही न केही ज्ञान मिलिरहेको हुन्थ्यो ।’ सुरुवातका ६ महिना असफलता मात्र हात लाग्यो । आफूसँग राम्रो बजेट भएकाले त्यसैमा अडिग भइरहन उनी सकेनन् । करिब १५००० डलर परीक्षणमै सकिए पनि उनी कत्ति विचलित नभइ त्यसैमा लागिरहे ।

त्यसपछि उनलाई ड्रप शिपिङमा सफलता मिल्न थाल्यो । घर्तीका अनुसार ड्रप शिपिङ ईकमर्शको एउटा भाग हो, जसमा ड्रप शिपिङ गर्ने बिक्रेतालाई सामान र सो सामानको प्रचारमा मात्र सरोकार हुन्छ । उसलाई सामन कसरी बन्छ वा त्यो सामान बजारसम्म कसरी पुग्छ भन्ने केही कुरामा चासो हुँदैन । उसले केवल त्यो सामान कस्तो छ भन्ने कुरामा र लक्षित गरिएका ग्राहकसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनपर्छ । ड्रप शिपिङ गर्दा आफ्नो स्टोरमा त्यस्ता सामान राख्नपर्छ, जुन आफूले लक्षित गरेका ग्राहकलाई आवश्यक होस् र ती सामान स्वदेशी ईकमर्स वेबसाइट वा कुनै पसलहरूमा उपलब्ध नहोस् । प्रायः धेरै ड्रपशिपर्शले आफ्नो स्टोरमा चिनियाँ सामान राख्ने गरेको पाइन्छ किनभने नेपालमा प्रायः सस्तो सामानको माग बढी हुन्छ ।

अन्य व्यवसाय जस्तै ड्रप शिपिङमा फाइदा बेफाइदा हुन्छन् । यो सुरुवात गर्न निकै नै सहज हुन्छ । एउटा सामान्य स्टोर बनाएर जहाँकहीबाट पनि सुरुवात गर्न सकिन्छ । लक्षित गरिएका ग्राहक जुनसुकै ठाउँको भए पनि सहजै पुर्‍याउन सकिने भएकाले ड्रशिपिङ व्यापर यो सन्दर्भमा झन्झटिलो छैन । ड्रप शिपर पूर्ण रूपमा थर्ड पार्टी बिक्रेता हुन् । यसमा उनीहरूको मुख्य भूमिका मध्यस्तकर्ताको हुन्छ । त्यसैले सामान स्टकमा बढी रहने कुराको चिन्ता हुँदैन । ड्रप शिपर पूर्ण रूपमा सामान र सो सामानको प्रचार प्रसारमा बढी केन्द्रित भयो भने उसले ड्रप शिपिङ व्यवसायमा सफलता पाउन सक्छ ।

अन्तर्राष्ट्रिय ईकमर्श वेबसाइटमा अनगिन्ति सामानहरू हुन्छन् । त्यसमध्ये कुन सामान बेच्ने भन्ने कुरा ड्रपशिपर सोहीले निर्धारण गर्न सक्छ । यदि कुनै सामान राम्रो बिक्री भइरहेको छ बने त्यसलाई आफ्नो बजेट अनुसार बढाउन पनि सकिनु नै यसका राम्रा पक्ष हुन् । फाइदा मात्र नभई ड्रप शिपिङमा केही घाटा पनि बेहोर्नुपर्ने हुन्छ । यस्ताे व्यवसाय प्रचार-प्रसारमामा निर्धारण हुन्छ । यदि मार्केटिङ मङ्हगो भएको खण्डमा व्यापार घाटामा जान सक्छ । त्यति मात्र नभई ढुवानीका कुराले पनि ड्रप शिपिङलाई धेरै प्रभाव पार्छ । बाहिरबाट सामान ल्याउन धेरै नै समय लाग्छ । यदि त्यो समयसम्म ग्राहक पर्खन सकेन भने व्यापार घट्ने सम्भावना हुन्छ । यसका लागि बिक्रेताले प्रमुख ईकमर्श साइटबाट कारोबार नगरेर ती साइटका कोही बिक्रेतासँग सोझै कारोबार गर्न सके यो समस्याबाट पनि मुक्त पाइन्छ । 

टेकपानासँग कुरा गर्दै उनले भने, ‘शिपिङ कम्पेलेक्सबाट मुक्त पाउन ड्रप शिपर्शले, ठूला साइट जस्तै अलिबाबाका आफ्ना बिक्रेतासँग व्यक्तिगत सहमति गरेर सामान छिटो मगाउन सक्छन् ।’ ड्रप शिपर्श थर्ड पार्टी बिक्रेता भएकाले कतिपय अवस्थामा सप्लायर्सले गरेका गल्ती जस्तै ढिलो ढुवानी, मगाएको भन्दा फरक सामान पठाउने, बिग्रेको सामान पठाउन सक्ने, लेबलिङमा गल्ति गरिदिन सक्छ, ती सबै उनीहरूले बेहाेर्नुपर्छ । यस्तो अवस्थामा सप्लायर्सबाट आएका सामानहरू ड्रप शिपर्शले परीक्षण गरेर मात्र बिक्री गर्नुपर्ने हुन्छ । यसो गर्दा ग्राहकलाई भरपर्दो सामान पठाउनुका साथसाथै उनीहरूको विश्वास जित्न सक्छन् । ड्रप शिपर्शले ब्राण्डेडरहित सामाग्री बिक्री गर्ने भएकाले आफैले ब्राण्डिङ गर्न सक्दैनन् । उनीहरूले केवल त्यसमा आफ्नो स्टोरको प्रचार गर्न सक्छन् ।

यसमा सबै कुरा विचार नगरेर लाग्ने हो भने अनावश्यक खर्च बढी हुन्छ जसको उदाहरण घर्ती हुन् । उनले परीक्षण गर्दा गर्दै करिब १८ लाख खर्च गरेका थिए । यदि नितान्त रूपमा त्यसैमा लागिपर्‍यो भने सानो बजेटमा पनि राम्रो आम्दानी गर्न सकिने अनुभव घर्तीको छ । यदि उनीहरू अरूले गरेका गल्ती नदोहोर्‍याएर, सबै कुरा बुझेर लागे भने करिब १ लाख ५० हजार खर्च हुँदासम्म सफलता पाउन सक्छन् । सबैभन्दा पहिले उपलब्धीमा केन्द्रित हुन खोज्यो भने पछि के हुन्छ भन्न सँकिदैन । समय कस्तो चल्छ, सफलताको अवधी त्यसैमा पनि भर पर्न सक्छ । तर, हपलब्धीको अपेक्षा बिना नै लागिरह्यो भने ड्रप शिपिङमा सफलता पाउन टाढा जानु पर्दैन ।

‘आजका दिनसम्म पनि नेपालमा पेपाल, स्टाइप जस्ता माध्यम आइसकेका छैनन् । यदि नेपालमा ति सुविधा आएको खण्डमा जोकोहीले कसैको सहयोग बिना नै पूर्ण रूपमा नेपालबाट सञ्चालन गर्न सक्छन्,’ उनी भन्छन् । अहिले घर्तीको ड्रप शिपिङको व्यापार दुबईदेखि चलिरहेको छ । व्यापार बाहिरदेखि चलिरहेको भए पनि त्यो रकम रेमिट्यान्सको रूपमा नेपालमा नै आइरहेको छ । नेपालीले जहाँकहिँ बसेर आम्दानी गरे पनि अन्त्यमा खर्च नेपालमा भइरहेको छ भने त्यसले स्वतः सबैलाई सहयोग गरिरहेको नै छ ।

आफूलाई नेपालमा नै बसेर व्यापार सञ्चालन गर्ने विचार भए पनि कम्पनी बाहिरबाट चलिरहेको हुनाले उनले धेरै रकम त्यहाँका पार्टनरलाई तिर्नुपर्छ । त्यसैले सबै रकम आफैसँग रहोस् भनेर उनी आफ्नो व्यापार दुबईमा बसेर काम सञ्चालन गरिरहेका छन् । करिब ५ वर्षको अवधिमा उनको कम्पनीले करिब ५० करोड बराबरको व्यापार गरिसकेको छ । त्यसमा हुने लो मार्जिनको रकम कटौती गर्दा पनि उनलाई धेरै नै नाफा भइरहेको छ ।

यसरी आईटी वा मार्केटिङ कुनै विषयको ज्ञानबिना त्यही क्षेत्रमा पूर्ण रूपले लागि रहँदा उनी सफल भएका छन् । उनको यो यात्रा सबैका लागि प्रेरणाको स्रोत बन्नसक्छ । जो युवा नेपालमा नै बसेर केही राम्रो आम्दानी गर्न चाहन्छन्, उनीहरूका लागि उका विचार र अनुभवले धेरै टेवा पुर्‍याउन सक्छन् । यदि नेपालमा पनि अन्तर्राष्ट्रिय भुक्तानीको माध्यम (पेपाल) आयो भने धेरैले यो व्यवसाय सुचारू गरेर नेपालमा नै राम्रो आम्दानी गर्न सक्छन् ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !