३२ वर्षमै सहसचिव बनेका परियार, एकै वर्ष तीनपटक फालिएका थिए उपसचिवको अन्तरवार्तामा

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ (Source: NepalPress): मंगलबार दिउसो लोक सेवा आयोगले वेवसाइटमार्फत पाँचजना सहसचिव सिफारिस भएको सूचना सार्वजनिक गर्यो । जसअनुसार खुला प्रतिस्पर्धामा दुईजना सिफारिस भएका देखिए– गुल्मीका सुरेश पन्थी र प्रदीप परियार । पहिलो नम्बरमा सिफारिस भएका पन्थीभन्दा दोस्रो नम्बरमा सिफारिस भएका परियार धेरै चर्चामा छन् । पहिलो त उनी एक दलित समुदायको व्यक्ति भए पनि आरक्षणबाट होइन कि खुलाबाट नै उनी उच्च पदमा पुगेका थिए । दोस्रो उनले सम्भवतः सबैभन्दा कम उमेरमा सहसचिव बन्ने नयाँ रेकर्ड राखेका छन् ।

खुलातर्फ लिखित परीक्षाबाट अन्तरवार्तासम्म चारजना सिफारिस भएका थिए । जसमध्ये दुई जनालाई पछि पार्दै परियार सहसचिवमा सिफारिस भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियारले ३२ वर्षमै सहसचिवमा नाम निकाल्न सफल भए । उनी २०४६ साल वैशाखमा जन्मिएका हुन् । पर्वत फलेवास स्थायी घर भएका परियार नायव सुब्बाबाट निजामति सेवामा प्रवेश गरेका थिए । नायव सुब्बाको पदमा उनले एक वर्ष मात्रै काम गरे । त्यसपछि खुला प्रतिस्पर्धाबाट राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा सिफारिस भए । शाखा अधिकृतको रुपमा रहेर उनले आठ वर्ष काम गरेका छन् । नायव सुब्बा र शाखा अधिकृत गरेर उनले अहिलेसम्म निजामती सेवाम नौ वर्ष पुग्दै गर्दा सहसचिवमा खुला प्रतिस्पर्धाबाट सिफारिस भएका हुन् ।

32 Barshamai Sahasachib Baneyka Pradip Pariyar

शाखा अधिकृतका रूपमा रहेर विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव उनीसँग छ । अब स्थानीय तहमा पदस्थापन भएमा महानगरपालिका वा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकारमा पदस्थापन भएमा प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा र गृह मन्त्रालय अन्तरगत सिफारिस भएमा सुगम जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उनले सम्हाल्नेछन् । यति मात्र नभएर संघीय सरकारका मन्त्रालयमा पदस्थापन भएमा कुनै एक महाशाखा प्रमुखको जिम्मेवारी तथा विभागमा पदस्थापन भएमा विभागीय प्रमुख अर्थात महानिर्देशक वा उपमहानिर्देशकको जिम्मेवारीसमेत सम्हाल्न सक्नेछन् ।

नायव सुब्बाको परीक्षणकाल पूरा नगर्दै अधिकृतमा सिफारिस

परियार २०६९ सालमा नायव सुब्बामार्फत निजामती सेवामा प्रवेश गरेका हुन् । नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए । निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहे पनि त्यो पूरा नहुँदै उनी शाखा अधिकृतमा सिफारिस भए । २०७० सालबाट परियारले शाखा अधिकृतको रूपमा काम गर्दै आएका छन् ।

एकै वर्षमा तीनपटक उपसचिवको लिखित परीक्षमा उत्तीर्ण भए पनि अन्तरवार्तामा फालिए थिए परियार । यस वर्ष नै उनी तीनपटक राजत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिवको लिखित परिक्षामा उत्तीर्ण भएका हुन् । उनले उपसचिवमा प्रशासनतर्फ आन्तरिक र खुलातर्फ गरेर दुवैबाट आवेदन दिएकोमा दुवैतर्फ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । यति मात्र नभएर परराष्ट्रको उपसचिवमा पनि उनले आवेदन दिएकोमा तीन पटक लिखित परीक्षामा उत्तीर्ण भएका थिए । तर, अन्तरवार्तामा भने उनी सफल हुन सकेनन् ।

सहसचिवमा पनि दुई वर्ष अन्तरवार्तामा फालिए

लगातार दुई वर्ष उनी सहसचिवमा खुलातर्फ लिखित परीक्षामा उत्तीर्ण भए । गत वर्ष पनि उनले खुलातर्फ सहसचिवमा लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तर्वार्ताबाट फालिएका थिए । यस वर्ष पनि खुलातर्फ नै सहसचिवको लिखित परीक्षामा उत्तीर्ण भएसँगै उनले अन्तर्वार्ताको तयारी गरे । चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उनी सहसचिवमा सिफारिस हुन सफल भएका छन् ।

प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासकै सरकारी विद्यालय भवानी विद्यापिठबाट उत्तीर्ण गरेका हुन् । कक्षा एकदेखि कक्षा १० सम्मको पढाइमा उनी कहिल्यै दोस्रो भएनन् । १० कक्षाभन्दा माथिको पढाइमा निरन्तर छात्रवृत्ति पाइरहे । उनले शान इन्टरनेसनल कलेजबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे । पब्लिक युथ क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर तह उर्तिण गरे । परियार पर्वतको फलेवासमा एक सामान्य परिवामा जन्मिएका हुन् । उनका परिवारमा बुवा–आमा अहिले पनि गाउँमै खेतीपातीको काम गर्दै आएका छन् । उनका दाइ वन अधिकृतको रूपमा सरकारी सेवामा नै कार्यरत छन् ।

Source Link: NepalPress

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !