आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिँदै

RONB Update - Reporter
0
०८ चैत्र, काठमाण्डौँ (Source: Setopati): यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द भएको जानकारी गराएको छ।

विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको सूचना अधिकारी भुसाल बताउँछन्। उनका अनुसार परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको समेत उनले जानकारी दिए। 'यसमा काम भइरहेको छ। यो परीक्षा दुई महिनाभित्र सकाएर हामी फेरि आवेदन प्रणाली खुला गर्छौं, भुसालले सेतोपाटीसँग भने।

Aabeydan Diyeko Sata License Exam Dina Pauney Beywasta Garidai

लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने उनको भनाइ छ। 'हामी सीमित आवेदन लिन्छौं र परीक्षा सकाइहाल्छौं। परीक्षा सकिएपछि पुनः आवेदन खुलाउँछौं। अब आवेदन दिएर धेरै समय कुर्नु नपरोस् भनेर हामीले यस्तो व्यवस्था गर्न लागेका हौं, सूचना अधिकारी भुसालले भने। हाल आवेदन दिएर परीक्षाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता छ। कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्ड‌ै दुई कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो। यो जम्मा भएको चाप सकेर थोरै–थोरै आवेदन लिने र परीक्षा पनि लिइहाल्ने व्यवस्था मिलाउने विभागको योजना छ।

देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ। उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्। परीक्षा उत्तीर्ण गरेकाले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। नवीकरण गर्नेहरू पनि पर्खाइमा छन्। विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ। गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ।

यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो।

त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो। कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन। निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो।

लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्। तर पछिल्लो समय ट्रायल उत्तीर्ण भएकाहरूलाई परीक्षणकालीन लाइसेन्स दिन थालेपछि केही सहज भने भएको विभागले बताएको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो। यस्तो लाइसेन्स ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ। 

अस्थायी कार्ड वितरण सुरू भएसँगै पछिल्लो समय खरिद गरेको १४ लाख कार्डले अझै केही समय थेग्ने विश्वास विभागको छ। अस्थायी कार्डलाई विभागले एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्। यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ। उनका अनुसार विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !