Bharatma Aam Admi Party Ko Udaya Huda Nepalka party Aasafal

RONB Update - Reporter
0
२७ फागुन, काठमाण्डौँ (Source: Ratopati): भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले स्थापनाको एक दशकमै उल्लेख्य सफलता हासिल गरेको छ । सन् २०१२ मा स्थापित यो दलले दिल्ली विधानसभा निर्वाचनमा लगातार विशाल जित हासिल गर्दै दोस्रो पटक सरकारको नेतृत्व गरेको छ भने हालै पञ्जाब विधानसभा निर्वाचनमा पनि पूर्ण बहुमतको सरकार गठन गर्नेगरी जनादेश पाएको छ । यता, नेपालमा भने वैकल्पिक राजनीतिक शक्ति भनिएका दलहरु आफ्नो अस्तित्व जोगाउनै संघर्षरत देखिन्छन् । नेपालमा अहिले पनि ठुला राजनीतिक दलकै प्रभाव देखिन्छ । २०७४ सालको स्थानीय तहको पूर्वसन्ध्यामा तत्कालीन विवेकशील नेपाली दलले ‘वैकल्पिक राजनीतिक शक्ति’ का रुपमा आफूलाई उभ्याएको थियो तर जनताले उसलाई विश्वास गर्न सकेनन् ।

यसबीचमा वैकल्पिक शक्तिका रुपमा आफूलाई दाबी गर्ने राप्रपा, विवेकशील साझा, जनमत पार्टी लगायतका दल आफ्नो अस्तित्व रक्षाकै लागि संघर्षरत देखिन्छन् । उता भारतमा भने एक दशक अघि वैकल्पिक शक्तिको रुपमा उदाएको आम आदमी पार्टीले दिल्लीपछि पञ्जावमा आफ्नो प्रभाव विस्तार गरिसकेको छ । जानकारहरुका अनुसार अब भारतमा आम आदमी पार्टीले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा आफ्नो प्रभाव बढाउन सक्ने आधार देखा पर्न थालिसकेको छ ।

पूर्वराजदूत नीलाम्बर आचार्य भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको सफलतालाई वैकल्पिक राजनीतिक शक्तिको उदयका रुपमा भन्दा पनि त्यहाँ काँग्रेस निरन्तर कमजोर बन्दै गएको परिणामका रुपमा लिनुपर्ने बताउँछन् । भारतमा काँग्रेस आइ कमजोर हुँदा भारतीय जनता पार्टीको वर्चश्व बढेको अवस्थामा आम आदमी पार्टीले दिल्ली र पञ्जावमा काँग्रेसलाई पराजित गर्दै आफ्नो स्थान बनाएको उनले बताए । भारतमा नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका उनले भने, ‘दिल्लीमा काँग्रेसलाई पराजित गरेर आम आदमी पार्टी आएको हो, पञ्जावमा पनि उसले काँग्रेसलाई नै पराजित गरेको हो ।’

Bharatma Aam Admi Party Ko Udaya Huda Nepalka party Aasafal

भारतीय जनता पार्टी पनि काँग्रेसकै प्रभुत्व समाप्त पारेर सत्तामा आएको उनले बताए । यी घटनाले भारतमा परम्परागत काँग्रेस पार्टी कमजोर भयो भनेर बुझ्नुपर्ने उनको भनाइ छ । तर नेपालमा त्यसरी अर्को दल उदाउने सम्भावना नभएको उनले बताए । ‘यहाँ अहिले पनि काँग्रेसको विकल्पमा कम्युनिस्ट र कम्युनिस्टको विकल्पमा काँग्रेसलाई जनताले लिने गरेका छन्,’ उनले भने, ‘यो अवस्थामा यहाँ काँग्रेस र कम्युनिस्ट बाहेकको विकल्प आउन गाह्रो छ ।’

पूर्वराजदूत आचार्यका अनुसार आम आदमी पार्टीले जनतासँग सरोकार भएका विषयलाई प्राथमिकताका साथ उठाउने र तिनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे जनतासामु राखेका विचार नै उसले चाँडै प्रभाव बढाउन सक्नुको कारण हो । ‘यो पार्टीको गठन नै भ्रष्टाचारविरोधी अभियानबाट भएको हो,’ उनले भने, ‘यसबाहेक शिक्षा, स्वास्थ्यका क्षेत्रमा देखिएका समस्यालाई उसले नारा बनायो र आफूसँग समाधानका उपाय यस्ता छन् भनेर जनतालाई विश्वास दिलायो ।’

आम आदमी पार्टीले जनतालाई प्रतिवद्धता जनाएजस्तै दिल्लीमा सुधारका कामहरु पनि गरेको उनको भनाइ छ । जनताको दैनिक जीवनमा आउने समस्या सम्बोधन, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गरेर पनि जनताको विश्वास जित्न सकिन्छ भन्ने आम आदमी पार्टीले देखाएको उनले बताए । नेपालमा वैकल्पिक भनिएका राजनीतिक दलहरुमा भने त्यस्तो चरित्र नै नदेखिएको उनले प्रस्ट पारे । ‘यहाँ ज-जसले आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गरे, ती सबै सुविधाभोगीमात्र देखिए,’ उनले भने, ‘उनीहरु जनताको दैनिक जीवनमा आइपरेका समस्या, आधारभूत आवश्यकताभन्दा पर पुगे ।’

भारतमा आम आदमी पार्टीको पछिल्लो सफलताले राष्ट्रिय शक्तिका रुपमा यो दल स्थापित हुन्छ कि भनेर सोच्ने आधार बनाएको आचार्य बताउँछन् । ‘आम आदमी पार्टी भनेको वास्तवमै सामान्य जनतासँग भिजेको, शिक्षा, पानी, स्वास्थ्य, बसोवासजस्ता जनतालाई अप्ठ्यारो पर्ने विषय समाधान गर्ने, भ्रष्टाचार विरोधी अभियानबाट स्थापित भएको हो,’ उनले भने, ‘यो जसरी हुर्कियो, जसरी अघि बढ्यो, त्यो प्रक्रियाबाट नेपालमा कुनै पार्टी बनेका छैनन् ।’

त्यसैले पनि नेपालमा दुई पार्टीको प्रभुत्वलाई तोड्न सक्ने वैकल्पिक शक्ति वा क्षेत्रीय पार्टी बन्न नसकेको उनले बताए । ‘वैकल्पिक शक्ति पनि यहाँका प्रमुख दुई दलमै छन् । दुई पार्टी आपसमा सुरुदेखि प्रतिस्पर्धी छन्,’ उनले भने, ‘भारतमा भने दुई पार्टीको प्रभुत्व समाप्त भइसकेको छ, अहिले एउटा पार्टीको मात्र प्रभुत्व छ ।’ राजनीतिक विश्लेषक हरि रोका भने भारतको आम आदमी पार्टीलाई त्यहाँको वैकल्पिक शक्तिभन्दा पनि नयाँ राजनीतिक शक्तिका रुपमा लिनुपर्ने बताउँछन् । ‘उसले धेरै ठुलो सैद्धान्तिक, वैचारिक कुरा गरेको छैन तर जनताको पक्षमा आधारभूत आवश्यकताका कुरालाई सम्बोधन गर्दै आएको छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुरामा सुधारको काम गर्दै आएको छ ।’

समाज भ्रष्टाचारमुक्त हुनुप-यो, आम मानिसलाई सेवा सुविधा संविधानमा लेखेअनुसार सहजतापूर्वक दिनुपर्‍यो भनेर आम आदमी पार्टीले अभियान चलाएको र राजधानीबाटै त्यो अभियान सुरु भएकाले प्रचार प्रसारमा उसलाई कुनै समस्या नभएको रोका बताउँछन् । त्यसले गर्दा पनि जनतामा आम आदमी पार्टीले चाँडै एउटा छाप बनाउन सफल भएको र दिल्लीमा उसले काम गरेर समेत देखाएको उनको भनाइ छ ।

‘शिक्षामा हाम्रोमा जस्तै त्यहाँ पनि निजी विद्यालय धेरै थिए, सार्वजनिक विद्यालयमा स्तरीय शिक्षा दिन सकिन्छ भन्ने देखाए । निजी अस्पतालमा मात्र गुणस्तरीय सेवा पाइन्छ भन्ने मान्यता बदलेर सरकारी अस्पताललाई स्तरीय बनाए । दिल्लीमा पिउने पानीको बन्दोबस्त पनि राम्रो गरे,’ दिल्लीमा आम आदमी पार्टीले गरेको कामको चर्चा गर्दै उनले भने, ‘सहरमा शिक्षा, स्वास्थ्य, सफाइ र पिउने पानीको बन्दोबस्त राम्रो गरे । यसको प्रचारप्रसार भयो र अन्यत्र पनि प्रभाव पर्‍यो ।’

पञ्जावमा हालै विधानसभा निर्वाचनमा आम आदमी पार्टीले जित हासिल गर्नुमा दुई वर्ष लामो किसान आन्दोलन पनि एउटा कारण बनेको उनको बुझाइ छ । ‘भारतमा त्यत्रो किसान आन्दोलन भयो, त्यो आन्दोलनको लिड गर्ने पञ्जाव नै हो । जबकि त्यो आन्दोलनमा काँग्रेसको कोही थिएन । बीजेपीको किसानमारा नीतिविरुद्ध नै आन्दोलन भयो,’ उनले भने, ‘यस्तो अवस्थामा अब को आउने भन्दा जनताले आम आदमी पार्टीलाई मत दिए ।’ जनताले ‘टेस्टेड’लाई नै फेरि मौका दिनुभन्दा राम्रो विकल्प भेटेमा नयाँ शक्तिलाई नै विश्वास गर्न सक्छन् भन्ने उदाहरण पञ्जावबाट लिन सकिने उनको भनाइ छ । नेपाली जनताले पनि विकल्प खोजिरहेको तर, नेपालमा आम आदमी पार्टीजस्तो विल्कुलै नयाँ र जनतासँग निकट सम्बन्ध राख्ने राजनीतिक शक्तिको अभाव रहेको उनले बताए ।

उनले भने, ‘हाम्रोमा पनि सबै टेस्टेड भइसके । काँग्रेस सत्तामा छ, पहिला पनि सत्तामा धेरैपटक गइसकेको हो । एमाले पनि केही अघि सत्तामै थियो, अधिकांश स्थानीय तहमा एमालेकै सत्ता छ । यिनलाई मात दिने अर्को कुनै पनि पार्टी आएका छैनन् ।’ नेपालमा रहेका दलहरु कथित लेफ्ट, कथित डेमोक्रेट र कथित राजावादी खेमाका मात्र भएको उनको भनाइ छ । ‘अहिले नयाँ भनेर आएकाहरु पनि कि राजावादीतिर नजिक छन्, कि काँग्रेसतिर नजिक छन् कि कम्युनिस्टतिर । जबकि यी तिनै खेमा भ्रष्टाचारमा डुबेका, यिनले केही गर्छन् भन्ने आश नभएका हुन्,’ उनले भने, ‘काँग्रेस कम्युनिस्टको शासन देखेकै हो, राजावादी भनिएकाहरु पनि पञ्चायतमा र प्रजातन्त्र पुनर्स्थापनापछि पनि जनताले देखेकै हुन् ।’ २०७४ सालको स्थानीय तहको निर्वाचन अघि विवेकशील र साझा पार्टी वैकल्पिक शक्तिका रुपमा आउन खोजेको विश्लेषक रोका बताउँछन् । ‘पहिलो पटक नै काठमाडौं महानगरको निर्वाचनमा १०÷१५ हजार मत ल्याउनु ठुलै कुरा थियो,’ उनले भने, ‘नयाँ ढाँचामा आएका छन् भन्ने थियो ।’

पछि विवेकशील र साझा पार्टीबीच एकता भएको तर रविन्द्र मिश्रले आफूलाई राजावादी कित्तामा उभ्याउँदै संघीयता विरोधी छवि बनाएपछि यो पार्टीलाई पनि ‘वैकल्पिक शक्ति’ भन्न नमिल्ने उनको तर्क छ । ‘राजावादी भनेकै टेस्टेड नै हो नि,’ उनले भने, ‘त्यसले गर्दा यो वैकल्पिक भन्ने नै भएन ।’ अर्कोतिर सीके राउत नेतृत्वको पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन खोजे पनि जनताले पत्याइहाल्न पर्ने कारण नरहेको उनले बताए । ‘यो पार्टीको क्रियाकलाप बढी उद्दण्ड, उच्छृङ्खल देखियो । आम मानिसको दुःखको कुरा, समस्या उठाउने हो भने अर्कै तरिकाबाट गर्नुपर्ने हो,’ उनले भने, ‘तत्काल यहाँ वैकल्पिक शक्तिको उदय हुने देखिएको छैन । तर एक दुई वर्षमै ननिस्किएला भन्ने छैन ।’ एउटा ठाउँमा राम्रो काम गरे त्यसको झिल्को देशभरि फैलिन बेर नलाग्ने भन्दै उनले सामाजिक सञ्जालको अहिलेको सहज अवस्थामा त्यस्तो शक्तिको उदय र विस्तार चाँडै हुन कठिन नहुने बताए ।

Source Link: Ratopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !