स्थानीय चुनावमा टिकट कसलाई ?

RONB Update - Reporter
0
२८ फागुन, काठमाण्डौँ (Source: Ratopati): स्थानीय तहको निर्वाचनको मिति आउन झन्डै २ महिना बाँकी रहेका बेला राजनीतिक दलहरूले सम्भावित उम्मेदवारको मापदण्ड तयार पारेका छन् । केही दलहरू भने उम्मेदवार छनौट गर्ने आधार तय गर्न बैठक गर्ने प्रक्रियामा छन् । अधिकांश दलहरूले पार्टीको स्थानीय स्तरको संगठनबाटै उम्मेदवार छनौट गर्ने आधार तय गरेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनाव लक्षित कार्यक्रममा होमिइसकेका छन् । उनीहरू यतिबेला विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा संगठन बिस्तार तथा सभा सम्मेलनमा सहभागी पनि भइरहेका छन् ।

Esthaniya Cchunabma Ticket Kaslai

(toc) #title=(स्थानीय चुनावमा टिकट कसलाई ?)

हालसम्म नेपाली काँग्रेस, जनता समाजवादी पार्टी राप्रपाले महानगरपालिका बाहेक अन्य पालिका तथा वडाका लागि स्थानीय कमिटीलाई लाई उम्मेदवार छनौट गर्ने अधिकार दिएको छ । साथै उम्मेदवार हुनका लागि केही मापदण्ड समेत तय गरिएको छ । हाल जनप्रतिनिधिका रूपमा रहेकाहरू लोकप्रिय, फेरी जित्ने निश्चित भएकाहरूलाई फेरी दोहोर्‍याउने पनि नीति पनि दलहरूले अघि सारेका छन् ।

काँग्रेस:

नेपाली काँग्रेसले महानगरपालिकाका लागि केन्द्रीय समितिले उम्मेदवार तय गर्नेछ । उम्मेदवारका लागि मापदण्ड तयार पार्न छिटै केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता प्रकाश शरण महतले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘उम्मेदवार हुन योग्य व्यक्ति इमानदार हुनुपर्छ । तल्लो तहको कमिटीमा जे सहमति हुन्छ त्यही हामी मान्छौँ । पार्टी विधानमा विभिन्न तहहरूलाई जे अधिकार बाँडफाँड गरेको छ, त्यहीँबाट समाधान गरिने छ । तल्लो तहलाई नै उम्मेदवार सिफारिस गर्ने अधिकार दिइएको छ । विवाद आयो भने माथिल्लो निकायले समाधान गर्ने पद्धति तय भएको छ ।’

वडा तहको उम्मेदवार वडामै सहमति गर्नुपर्ने र सहमति नजुटेमा क्षेत्रीय समितिले टुङ्गो लगाउने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटे जिल्ला समितिले टुङ्गो लगाउने, नगरपालिकाको उम्मेदवारमा सहमति नजुटे प्रदेश समितिले टुङ्गो लगाउने, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीमा सहमति नजुटे केन्द्रीय समितिले टुङ्गो लगाउने प्रवक्ता महतले रातोपाटीलाई जानकारी दिए । सहमति जुटेमा भने माथिल्लो तहले निर्णय गर्नुपर्ने छैन । गठबन्धनमा जाने वा नजाने, गठबन्धनमा जाने हो भने कसरी गर्ने भन्ने मापदण्ड केन्द्रीय समितिको बैठकपछि निर्धारण गर्ने काँग्रेसको तयारी छ ।

नेकपा एमाले:

नेकपा एमालेले हाल जनप्रतिनिधि रहेका र राम्रो काम गरिरहेकाहरूलाई पुन सोही पदका उम्मेदवार उठाउने जनाएको छ । उम्मेदवार छनौटको मापदण्ड तथा अन्य विषयमा निर्णय गर्ने आगामी चैतको पहिलो सातातिर बस्ने पार्टीको बैठकले निर्णय गर्ने एमाले उपमहासचिव विष्णु रिमालले रातोपाटीलाई जानकारी दिए । उनले अघिल्लो चुनावमा एमालेले ४५ प्रतिशत स्थानीय तहमा चुनाव जितेको र ती स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिहरू पुन दोहोरिन सक्ने बताए । एमालेले हाल प्रत्येक प्रदेशमा आगामी निर्वाचन उन्मुख अभिमुखीकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको बताए ।

उनले भने–‘फागुन १ गतेदेखि सुरु भएको पार्टी अभिमुखीकरण कार्यक्रम फागुन १५ गते सकियो । यसबाट हामीले ३ हजार कार्यकर्ता प्रशिक्षित गरेका छौँ । संगठन बिस्तारको काम पनि भइरहेको छ ।’ उनले एमालेले स्थानीय तहको चुनाव सिंगल सिंगल लडौँ भन्दा गठबन्धन दलले लोकतन्त्रको मूल्य मान्यता विपरीत जालझेल र षड्यन्त्रको खेल खेल्न लागेको दाबी गरे ।

माओवादी केन्द्र:

माओवादी केन्द्रले भने स्थानीय तहका उम्मेदवार छनौट गर्नेबारे अहिलेसम्म कुनै मापदण्ड तय गरेको छैन । माओवादी केन्द्रका नेता देव गुरुङले भने–‘पार्टीले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन । पार्टीको बैठकपछि कस्तो मापदण्ड तय गर्छ त्यसपछि मात्रै थाहा हुन्छ ।’

नेकपा एकीकृत समाजवादी:

यता नेकपा एकीकृत समाजवादी दलले पनि स्थानीय तहको चुनावका लागि तयारी थालेको छ । पार्टीको सिङ्गो शक्ति चुनावमा केन्द्रित हुन लागेको पार्टीका महासचिव डा.वेदुराम भुसालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘हामी स्थानीय तहको उम्मेदवारको बारेमा छलफलकै क्रममा रहेका छौँ । हालै बसेको केन्द्रीयको कमिटी बैठकबाट सुझाव सङ्कलन पनि गरेका छौँ । निर्वाचनको घोषणापत्र, निर्वाचनको निर्देशिका, मापदण्ड सबै कुरा तयारीका लागि छलफलमा छौँ । पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय भएको छ ।’

उनले पार्टीको केन्द्रको तर्फबाट घोषणापत्र तयार गर्ने, उम्मेदवार छनौट प्रक्रिया तय गर्ने, निर्वाचनका बेला गर्ने कामका लागि निर्देशिका तय गर्ने, स्थानीय तहमा कमिटीहरू परिचालित गर्ने, कमिटी नभएका स्थानीय तहमा कमिटीहरू निर्माण गर्ने तयारी भइरहेको उनले बताए ।

जनता समाजवादी पार्टी:

जनता समाजवादी पार्टीले महानगरपालिकाको उम्मेदवारको तय केन्द्रले गर्ने र अन्य पालिका तथा वडाका लागि स्थानीय कमिटीबाटै सहमति जुटाउने मापदण्ड तयार पारेको छ । शुक्रबार बसेको पार्टीको बैठकले तयार पारेको मापदण्ड पार्टीको संघीय परिषद् र केन्द्रीय कमिटीले पास गर्न बाँकी रहेको पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तिायाक राईले रातोपाटीलाई जानकारी दिए । पार्टीको स्थानीय स्तरको कमिटीलाई नै उम्मेदवार छनौटको अधिकार दिइए पनि सो क्रममा विवाद भएमा माथिल्ला कमिटीमा विवाद समाधान समिति बनाएर उम्मेदवार छनौटको अधिकार दिइएको छ ।

उनले भने–‘पार्टीको प्रत्येक संगठनको तहमा एउटा विवाद समाधान समिति बनाउने निर्णय भएको छ । कम्तीमा ३ जनाको नाम सिफारिस गरेर स्थानीय तहले आफैँले टुङ्गो लगाउने निर्णय भएको छ । स्थानीय तहमा टुङ्गो लागेन भने जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ । जिल्ला समन्वय समितिले टुङ्गो लगाउन नसकेमा प्रदेश कमिटीमा विवाद पठाउने, प्रदेशमा रहने ३ जना सदस्य रहेको विवाद समाधान समितिले टुङ्गो लगाउने मापदण्ड तय गरिएको छ ।’ पालिका प्रमुखका लागि पालिकामै रहेको कमिटीले सिफारिस गर्ने, महानगर र उपमहानगरपालिका उम्मेदवारको पनि जिल्ला तहले निर्णय गर्ने, विवाद भएको अवस्थामा मात्रै प्रदेश कमिटीको भूमिका हुने राईले बताए ।

पार्टीको केन्द्रले महानगरको उम्मेदवार मात्र टुङ्गो लगाउने मापदण्ड तय गरिएको छ । महानगरमै उम्मेदवारमा सहमति जुटेमा केन्द्रले त्यसलाई स्वीकार गरेर जाने राईले बाए । उनले भने–‘पार्टीले मुख्य भूमिका स्थानीय तहलाई नै दिएको छ । विवाद आयो भने जिल्ला समन्वय समिति, प्रदेश समितिले तय गर्नेछ । प्रदेश समितिमा पनि केन्द्रले सन्तुलित ढंगले विवाद समाधान समन्वय समिति बनाउने छ । उम्मेदवार छनौट गर्दा लोकप्रियता, जित्न सक्ने आधार, दक्षता, पार्टीमा निरन्तरता, समावेशिताको आधारमा छनौट गर्ने तय भएको छ ।’ राम्रो काम गरेको र जनचाहना भएको व्यक्तिलाई फेरी दोहोरिन दिइने राईले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी:

यता राप्रपाले पनि स्थानीय तहको उम्मेदवार छनौटको मापदण्ड तयार पारेको छ । उम्मेदवार छनौटको जिम्मा पार्टीको तल्ला तहको कमिटीलाई दिइएको छ । पार्टीको मापदण्डलाई चैत पहिलो हप्ता बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अन्तिम रूप दिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘पहिलो कुरा उम्मेदवार योग्य हुनुपर्‍यो, स्वच्छ छविको हुनुपर्‍यो, स्थानीय तहमा प्रभाव भएको मान्छे हुनुपर्छ । पार्टीको नीति, बिचार र सिद्धान्तप्रति प्रतिबद्ध हुनुपर्‍यो । चुनाव जित्न सक्ने हुनुपर्‍यो । यस्ता प्रकारका उम्मेदवार सिफारिस गरेर पठाउन हामीले तल्लो तहका संगठनलाई भनेका छौँ ।’

सम्बन्धित स्थानीय तहले नै उम्मेदवार छान्ने र जिल्ला संगठनले केन्द्रलाई विवरण पठाउने मापदण्ड तयार गरिएको छ । प्रवक्ता श्रेष्ठले भने–‘पार्टी केन्द्रले जिल्ला र स्थानीय तह मिलेर उम्मेदवार छान्नु भनेका छौँ । टुङ्गो लगाएर पठाउने वा टुङ्गो नलागेमा सम्भावित नामहरू सिफारिस गरेर पठाउन भनेका छौँ ।’ यो वर्ष राप्रपा आक्रामक तयारीका साथ चुनावमा जुटेको बताए ।

उनले भने–‘ अहिले पार्टीले उचाईपनि लिइरहेको छ । काँग्रेस एमाले र माओवादी कमजोर हुँदै गएको, स्थानीय तहमा भ्रष्टाचार बढेर गएको, राप्रपाको महाधिवेशनपछि नेतृत्वको पक्षमा जनताको विश्वास बढेर गएको छ । पार्टीप्रति जनलहर बढिरहेको अवस्थामा यो पटकको स्थानीय तहको निर्वाचनमा राप्रपाले सम्पूर्ण शक्ति लगाउने भनेका छौँ ।’ उनले कमल थापाले पार्टी छोडेर गए पनि त्यसको नगण्य प्रभाव पर्ने उल्लेख गरे ।

नेपाल मजदुर किसान पार्टी:

नेपाल मजदुर किसान पार्टीले आगामी स्थानीय तहको चुनावमा सम्भव भएसम्म सबै जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीको जिल्ला कमिटीलाई सम्भावित उम्मेदवारको विवरण पठाउन भने पनि जिल्लाबाट विवरण आइनसकेको पार्टीका नेता प्रेम सुवालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘अहिलेसम्म हामीलाई सबै विवरण आइसकेको छैन । हामीलाई त्यति हतार लागेको पनि छैन । साथीहरूले प्रस्ताव कति र कसरी ल्याउनुहुन्छ । स्थानीय तहमै सल्लाह गरेर नाम ल्याउनुहुन्छ । हामीले सकेसम्म धेरै ठाउँमा उम्मेदवारी दिने तयारी गरेका छौँ । स्थानीय तहमा उम्मेदवारबारे सल्लाह गरेर केन्द्रमा पठाउने तयारी छ ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता सुवालले चुनावमा सत्तामा जाने दलका उम्मेदवारहरूले चुनावमा पैसा खर्च गर्ने, भोज खुवाउने, सामान बाँड्ने गरेर विकृति थपेको गुनासो गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘एक जना पूर्व सचिवले मलाई के भन्नुभयो भने, चुनाव जित्न मोबाइल मात्र हैन मोटरसाइकल नै बाँडेर चुनाव जित्ने उम्मेदवारहरू छन् । अनुगमनमा जाँदा हाम्रै आँखाले देखेको के गर्ने भन्छन् । यस्तो चुनाव छ के गर्ने ? खाली पैसा पैसा पैसा अनि भ्रष्टाचार । अहिले चुनाव जित्नका लागि पैसा अनि भोलि भ्रष्टाचार । दुईवटा कुरा भयो, अहिले चुनावमा कति पैसा खर्च गर्ने भोलि कति भ्रष्टाचार गर्ने ? उम्मेदवारको योग्यता नै त्यसरी भयो । सरकारमा जाने पार्टीहरूको यस्तो प्रवृत्तिले गर्दा सबै दललाई गाह्रो भएको छ । प्रजातन्त्रलाई यिनीहरूले हावा नै बनाए ।’

अधिकांश दलहरूले आगामी चैतको पहिलो साताभित्र उम्मेदवार छनौटको मापदण्डलाई अन्तिम रूप दिई उम्मेदवार छनौटलाई अगाडि बढाउने तयारी गरिरहेका छन् ।

Source Link: Ratopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !