इच्छाराज तामाङको सम्पत्ति: सेयरमा ८० करोड, ७५ करोड घर-जग्गामा

RONB Update - Reporter
0
२६ फागुन, काठमाण्डौँ (Source: Setopati): सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारविरूद्धको अनुसन्धान प्रतिवेदन विशेष अदालत सरकारी वकिलको कार्यालयमा बुझाएको छ। विभागले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको आरोपमा तामाङ, उनकी श्रीमती सिर्जना शाक्य, छोरी प्रतिष्ठा र प्रतिज्ञाविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।

विभागले तामाङ परिवारको दुई वर्ष लामो अनुसन्धान पूरा भएको जनाउँदै प्रतिवेदन बुझाएको हो। सरकारी वकिल कार्यालयले चाँडै अदालतमा मुद्दा दायर गर्ने विभागको विश्वास छ। विभागका अधिकारीका अनुसार अनुसन्धानमा तामाङ परिवारविरूद्ध तीन अर्ब २७ करोड बिगो माग गरिएको छ। उक्त बिगो कसुरअनुसार तामाङ र उनको परिवारका सदस्यबीच भाग लाग्ने ती अधिकारीले बताए।

तामाङले सिभिल सहकारीबाट लिएको ऋण व्यक्तिगत सम्पत्ति आर्जनका लागि लगानी, त्यसको विस्तार र व्यक्तिगत आम्दानी बढाउन प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ। तामाङले आर्जन गरेको ठूलो सम्पत्ति पब्लिक सेयर र कम्पनीहरूमा देखिएको विभाग स्रोतले बतायो। ‘सार्वजनिक सेयर र कम्पनीहरूमा ८० करोड हाराहारीको सेयर देखिएको छ,’ विभाग स्रोतले भन्यो।

यसैगरी, उनकी श्रीमती र छोरीहरूको नाममा कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटामा १५ रोपनी जग्गा फेला परेको छ। त्यहीँभित्र तामाङ आफूले थोरै जग्गा राखेको भेटिएको छ। ‘२०७४ सालमा उनले अंशबन्डा गरी त्यो जग्गा श्रीमती, छोरी र आफ्नो नाममा राखेको पाइएको छ,’ ती अधिकारीले भने। उक्त जग्गा र त्यहाँको घरमात्रै हालको बजार मूल्यमा ७५ करोड बढी हुन आउँछ। तर, विभागले सरकारी मूल्यमा मूल्यांकन गर्दा घर-जग्गाको बिगो न्यून भएको छ।

तामाङले आफ्ना कम्पनीहरूबाट करोडौं तलब बुझेको देखिएको विभागले जनाएको छ। त्यो करोडौंको सम्पत्ति उनले गायब पारेका छन्। अनुसन्धानमा उनकी छोरीहरूले सिभिल सहकारीबाट करोडौं रकम निकालेर कारोबार गरेको देखिएको छ। बैंक मौज्दात मात्रै करिब १२ करोड देखिएको छ। तामाङले मुख्यगरी सिभिल बैंकबाट कारोबार गरेको भेटिएको विभाग स्रोतले जनायो। उनले प्रभु बैंकबाट ठूलो परिमाणमा व्यक्तिगत कर्जा लिएको देखिएको छ। ‘प्राय:जसो सबै बैंकमा कारोबार देखिन्छ,’ स्रोतले भन्यो।

Icharaj Tamang Ko Share Ma 80 Karod, 74 Karod Ko Gharjagga

केही सम्पत्ति विदेशमा लुकाएको आशंका गरे पनि विवरण प्राप्त गर्न नसकिएको र त्यसको अनुसन्धान जारी रहने विभाग स्रोतले बतायो। सिभिल बैंकबाट उनले २०६५ सालयता ऋण निकालेर अरू कम्पनीहरू विस्तार गर्दै गएको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन्। तर, ती सबै कम्पनी घाटामा देखिन्छन्, तामाङ भने मौलाइरहेको देखिन्छन्। गत पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहितका व्यक्तिहरूलाई पाँच अर्ब ६३ करोड बिगो कायम गरी ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। त्यसमा मुद्दा नचलेकी उनकी श्रीमती शाक्य र छोरीहरू भने अहिलेसम्म फरार छन्। तामाङविरूद्धको विरूद्धमाथि अहिले उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ। तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेको अनुसन्धानमा देखिएको छ। तीमध्ये सबभन्दा बढी सिभिल होम्समा तामाङको लगानी बढी छ। सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणबद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।

सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ। ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्ब जति हुन्छ। तर, त्यो बिक्रीको पैसा तामाङले सिभिल सहकारीमा ऋण तिरेनन्। तामाङ समग्र सिभिल ग्रुपको अध्यक्ष भए पनि उनले ठगेको सिभिल सहकारीको जिम्मेवारीमा छैनन्। उनका मामा ससुरा केशवलाल श्रेष्ठ भने सहकारीको बोर्डमा देखिन्छन्।

श्रेष्ठसहितका व्यक्तिमाथि पनि अनुसन्धान थालिने विभागको तयारी छ। तामाङ नेकपा एमालेसँग निकट छन्। २०७० सालको संविधानसभामा उनी समानुपातिक सांसद थिए। राजनीतिक छहारी पाएपछि तामाङले आफ्नो सम्पत्ति लुकाएको, बिनाहिच्किचाहट विस्तार गर्दै लगेको अनुसन्धान अधिकृतको बुझाइ छ। ‘राजनीतिक आडमा अपराध गर्नेहरूलाई छुट छैन भन्ने सन्देश इच्छाराज प्रकरणले दिएको छ,’ विभागका उच्च अधिकारी भन्छन्।

इच्छाराजमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोग यसअघि लागेको थियो। सांसद पदमा बहाल रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामाङमाथि छानबिन गरेको थियो। तर, २०७७ सालमा अभियोग पुष्टि हुन नसकेको भन्दै अख्तियारले तामाङविरूद्धको फाइल तामेलीमा राखेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानमा बोलाउँदा तामाङले ‘अख्तियारले पनि क्लिनचिट दिएको’ भन्दै पत्र देखाई अनुसन्धान रोक्न अनुरोध गर्दै आएका थिए।

गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङसहित तीन जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो। कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो। कोषका अनुसार ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो।

अन्तिमपटक ३५ दिनको सूचना जारी गर्दै कोषले लिलामीको चेतावनी दिएको थियो। तर, त्यो पनि नाघेपछि कोषले लिलामी प्रक्रिया सुरू गरिसकेको छ। ‘मूल्यांकनकर्ताले सिभिल इस्टेट्सको सबै चलअचल सम्पत्ति मूल्यांकन गरी प्रतिवेदन दिइसकेका छन्, लिलामी प्रक्रिया सुरू भइसकेको छ,’ कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले भने।

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !