यस्ता छन् पल शाहले बयानमा दिएका ‘आफैंविरुद्ध’का प्रमाण

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ (Source: Ratopati): नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहले अधिकारप्राप्त अधिकारीसमक्ष केही बयान उनकै विरुद्धमा हुने देखिएको छ । प्रहरी अधिकारी र सरकारी वकिलसमक्ष अभिनेता पल शाह र उनकै म्यानेजरले दिएका बयानले समेत पल शाहमाथिको अभियोग पुष्टि गर्न केही प्रमाणमा रूपमा रहने देखिएको हो ।
आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक नाबालिगले दिएको उजुरीका आधारमा पक्राउ परेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले फागुन १८ गते शाहले दिएको बयानमा गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डबीच शारीरिक सम्बन्ध हुनु सामान्य कुरा हो भनेर बोलेको आवाज आफ्नै भएको भन्दै सनाखत गरी बयान दिएका छन् । त्यसैगरी शाहले उमेर पुगेपछि विवाह गर्ने भनी परिवारका सदस्यसँगै छलफल र सहमति गरेको कुरा पनि स्वीकार गरेका छन् ।

त्यसबाहेक तनहुँको दुलेगौँडास्थित प्रदीप थापाको घरमा रहेको समयमा आफूले मदिरा पिएको, मदिराकै तालमा पीडितलाई म्यासेज गरेको र आउँछु भनेको र पीडित रहेको कोठामा गएको, आफूले खाँदै गरेको बियर लगेर पीडितलाई समेत खुवाएको कुरा स्वीकार गरेका छन् । यद्यपि शाहले जबरजस्ती करणी गरेको कुरा भने अस्वीकार गरेका छन् ।

Yesta Chan Paul Shah Ley Diyeka Bayan

शाहकै बयानमा पीडित बालिकाले २०७८ सालको जेठ महिनाको अन्तिमतिर फोन गरी ‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ’ भन्ने समेतको शब्दहरू प्रयोग गरी म्यासेज पठाएको कुरा स्वीकार गरेका छन् । यस्तो म्यासेज आएपछि २०७८ सालको असार महिनामा काठमाडौँको बानेश्वरमा पीडित, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, कृष्ण जोशी लगायतका मानिसहरूसँग छलफल भई उमेर पुगेपछि विवाह गर्ने कुरामा सहमत भएको पनि स्वीकार गरेका छन् ।

पीडितका तर्फबाट पेस गरिएको अडियोमा ‘गर्भवती भएमात्रै स्वीकार गर्ने हो नत्र किन स्वीकार गर्ने ?’ भनेको शब्दसमेत आफ्नै रहेको भनी शाहले सनाखत गरिदिएका छिन् । शाहको यही बयान यतिबेला उनका लागि आफैँ विरुद्धको प्रमाण बन्ने सम्भावना प्रबल छ ।

फागुन १८ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा शाहले यस्तो भनेका छन् :

‘मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरूमा अभिनय गर्ने क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीया परिवर्तित नाम ०७८/७९ व्यास–१२ सँग मिति २०७७/०६/२२ गते काठमाडौँ साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरू बीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौँ । मिति २०७८/०१/ १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राती अबेर सम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गर्दै अन्दाजी ११ः४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित ०७८/७९ व्यास–१२ सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ । पीडित नाबालिगले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्, २०७८ सालको असार महिनामा काठमाडौको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नु पर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ । पीडित १८ वर्ष भन्दा कम उमेरकी नाबालिग हुन् भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो । पीडित पक्षले पेश गरेको अडियो रेकर्डमा भएको स्वर मध्ये Girlfriend – Boyfriend बीच यस्तो हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो सुनेर सनाखत गरी दिएँ ।’
शाह मात्रै होइन, शाहकै सहयोगी र पीडितलाई उजुरी नगर्न र मिल्न दबाब दिने शाहका म्यानेजर कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीको बयान पनि पल शाहका विरुद्धकै हुने देखिएको छ । जोशीले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा प्रतिवादी पल शाह र नाबालिगबीच प्रेम सम्बन्ध रहेको थाहा पाएको, पीडित बालिकाले नै आफू पीडित भएको भनी गुनासो गरेको र त्यही सम्बन्धमा आफूसमेत राखी छलफल गराएको बयान दिएका छन् । छलफलका क्रममा ‘गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डबीच आपसी सहमतिमा केही भयो होला तर स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन’ भनेर भनेको भनी जवाफ दिएका छन् ।

मनमुटावका बीच आफूलाई शाहले म्यानेजरको पदबाट निकालेको र पछि शाहलाई समस्या परेपछि पहिले २५ हजार दिने गरेकामा पछि ५० हजार रुपैयाँ दिने गरी नाबालिगसँगको द्वन्द्व र समस्या समाधान गर्ने उद्देश्यले मासिक ५० हजार दिने गरी फेरि म्यानेजर बनाएर लगेको बयान दिएका छन् । त्यही क्रममा आफूले बालिकाविरुद्ध सुराकी गर्न दुर्गा अधिकारीलाई खटाएको तथा प्रहरीकोमा उजुरी गरे मारिदिने सम्मको धम्की दिएको साबिती बयान दिएका छन् ।

हेर्नुहोस्, पलका म्यानेजर कृष्ण जोशीले २०७८ चैत २ गते अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयान :

‘मैले पल शाह भन्ने पूर्ण विक्रम शाहसँग मासिक रु.२५,०००/– तलब लिई फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्ण विक्रम शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म पूर्ण विक्रम शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिग र प्रतिवादी पूर्ण विक्रम शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो । पूर्ण विक्रम शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए, २०७८ सालको असार अन्तिम हप्तातिर पीडित ०७८/७९ व्यास–१२ ले मलाई सम्पर्क गरी पूर्ण विक्रम शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनेकीले म लगायतले पीडित र प्रतिवादी पूर्ण विक्रम शाहलाई बुझ्दा नाबालिगले आफूलाई पूर्ण विक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबरजस्ती करणी गरेका कारण म पीडामा छु भनेकी र प्रतिवादी पूर्ण विक्रम शाहले गर्ल फ्रेण्ड, ब्वाई फ्रेण्ड बीचको अन्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाँही मिल्दैन भन्ने शब्दहरू बोलेका थिए । प्रतिवादी पूर्ण विक्रम शाह र पीडित नाबालिगको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्ण विक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु प¥यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर रू. ५०,०००/– (पचास हजार रूपैयाँ) तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नाबालिगलाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिग के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ । तर निज दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ, निजले पेश गरेको म्यासेज मैले पठाएको म्यासेज हो, देखि चिनेर सनाखत गरे, मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरू प्रयोग गरेको हुँ ।’
यसरी पल शाहका म्यानेजर कृष्ण जोशीले पनि अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा शाह र ती नाबालिगबीच प्रेमसम्बन्ध भएकोबारे आफू जानकार रहेको बयान दिएका छन् । त्यसबाहेक शाहले उनीहरूबीचको सम्बन्धमा दरार आएपछि मिलाउने प्रयोजनका लागि आफूलाई पहिलेको भन्दा दुई गुणा तलब दिएर फेरि म्यानेजरमा राखेको र आफूले पीडित तथा पीडितका साथीलाई प्रहरीमा उजुरी नगर्न धम्की दिएको बयान दिएका छन् ।

अधिवक्ता भन्छन्, ‘आफ्नै बयान प्रमाणको रूपमा रहन सक्छ’

अपराधसम्बन्धी मुद्दा हेर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पल शाहले दिएको आफ्नै बयान आउनीविरुद्धको प्रमाणमा लाग्न सक्ने बताउँछन् । शाहले दिएको बयानमा कसरी लिने भन्ने रातोपाटीको प्रश्नमा त्रिपाठीले भने, ‘अब नाबालिगको कोठामा मध्यरातमा गएको, प्रेमी प्रेमिकाबीच यौनसम्बन्ध हुन सक्छ भनेर बोलेको अडियो आफ्नै भएको, गर्भवती भएको भए स्वीकार गर्छु भन्नु तथा उमेर पुगेपछि विवाह गर्ने कुरामा सहमत भएको भनेर बयान दिएका छन् भने उनकै बयान आउनीविरुद्धको प्रमाणका रूपमा लाग्न सक्छ । अहिलेको बयान अधिकारप्राप्त अधिकारीसमक्षको बयान हो, अब अदालतमा उनले के भनेर बयान दिएका छन्, त्यसलाई बढी आधिकारिक मानिन्छ ।यद्यपि मौकाको बयानलाई पनि अदालतले प्रमाणका रूपमा ग्रहण गर्छ । यदि अदालतमा पनि उनले सोही ब्यहोराको बयान दिएका छन् भने उनको बयान नै आउनीविरुद्धको प्रमाणको रूपमा रहन सक्छ ।’

पलविरुद्धको अभियोग पत्रमा प्रहरीले बालिकाको यौनजन्य शारीरिक परीक्षण प्रतिवेदन पनि पेस गरेको छ, जसमा योनी च्यातिएको पुरानो घाउ भएको उल्लेख छ । वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम भएको कारण प्रतिवादीलाई १२ देखि १४ वर्षसम्मको सजाय र मतियारका रूपमा शाहका म्यानेजर कृष्ण जोशीलाई त्यसको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । यससँगै पीडितलाई उचित क्षतिपूर्ति दिन पनि अदालतसँग माग गरिएको छ ।

Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !