क्यासिनोले धमाधम तिर्दैछन् रोयल्टी, ७ महिनामा साढे ७५ करोड असुली

RONB Update - Reporter
0
३ फागुन, काठमाडौं (Source: Onlinekhabar): क्यासिनोहरुले लामो समयदेखि बक्यौता रहेको रोयल्टीबापतको रकम धमाधम तिर्न थालेका छन् । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र डेढ दर्जन क्यासिनोले सरकारलाई रोयल्टी तथा नविकरण दस्तुर बुझाइसकेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा मात्र क्यासिनोबाट सरकारले ७५ करोड ४५ लाख रुपैयाँ असुल उपर गरिसकेको छ । यस्तो राजस्व निवेदन दस्तुर, इजाजत दस्तुर, नविकरण दस्तुर तथा रोयल्टीका माध्यमबाट उठ्ने गर्छ ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोमाथि कडाई गरि रोयल्टी बक्यौता भुक्तानीमा जोड दिएपछि रोयल्टी आउने क्रम बढेको छ । सोमबार मात्र सेन्ट्रल मिडिया प्रालिले सरकारलाई ४ करोड रुपैयाँ रोयल्टी बुझाएको छ ।


यस वर्ष १४ करोड २० लाख बैंक जमानत जम्मा

क्यासिनो सञ्चालनका लागि क्यासिनोहरुले राख्नु पर्ने बैंक ग्यारेन्टीमा समेत यस वर्ष उल्लेख्य प्रगति देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार बैंक जमानत रकम १४ करोड २० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म क्यासिनोहरुले कुल ८४ करोड ८४ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ राजस्व तिर्न बाँकी थियो ।

कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा १ अर्ब ९० करोड ९९ लाख ५५ हजार ९ सय २६ रुपैयाँ बराबरको लगत कसिएको थियो । त्यसरी लगत कसिएका क्यासिनोलाई मन्त्रालयले कडाइ गरेसँगै राजस्व आउने क्रम बढेको हो ।

मन्त्रालयका अनुसार रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकहरुलाई निरन्तर ताकेता गर्ने क्रम बढाइएको छ । सम्पर्कमा नआउने क्यासिनो सञ्चालक र होटलमाथि सरकारले कारवाही गरेको हो । सोही अनुसार होटल याक एण्ड यति सरकारले बन्द गराएको छ ।

कुन क्यासिनोले कति तिरे ?

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष हायात होटलमा रहेको प्राइड इन्टरटेन्मेन्ट प्रालि, होटल अन्नपूर्ण डेलामार रहेको एटलाइन्टिक रिक्रियसन प्रालि, मल्ल होटलमा रहेको बल्लिज नेपाल प्रालि र इभरेष्ट होटलमा रहेको डेन्टइन नेपाल प्रालिले ६ करोड ५० लाखका दरले राजस्व तिरेका छन् ।

यस्तै बाँकेस्थित भ्यू होटल सिद्धार्थमा रहेको ज्याकपट गेमिङ सेन्टर र बाराको इच्छा होटल परिसरमा रहेको स्माइल कलेक्सनले २/२ करोड रुपैयाँ राजस्व तिरेका छन् ।

बाँकेको होटल सोल्टी शिवक्रिम होटल्स तथा रिर्सोटमा रहेको इम्पेरियल इन्टरटेन्मेन्ट र सोल्टी होटलमा रहेको माजोङ इन्टरटेन्मेन्टले समेत ६ करोड ५० लाखका दरले रोयल्टी बुझाएका छन् ।

विभिन्न चार स्थानमा सञ्चालित रक इन्टरनेशनले ४ करोड, होटल निर्वाण भैरहवामा रहेको निर्भाना लक्जरीले १ करोड, होटल स्नेहा नेपालगन्जमा रहेको बेलिज इन्टरटेन्मेन्टले २ करोड ५ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् ।

झापास्थित होटल मेची क्राउनमा रहेको भेगस रिक्रियसन प्रालिले ६ करोड ६० लाख, बाँकेस्थित होटल स्टारलाइटमा रहेको भेन्यू रिक्रियसन प्रालिले २ करोड ५ लाख, भैरहवास्थित होटल नान्स परिसरमा रहेको सिद्धार्थ गेमिङ जोन प्रालिले २ करोड ५ लाख, बाँकेस्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा रहेको ओम क्रयम्बकम इन्टरटेन्मेन्टले २ करोड ५ लाख र बाँकेको नेपालगञ्जस्थित होटल सिटी प्यालेसमा रहेको सेपियर इन्टरटेन्मेन्टले समेत २ करोड ५ लाख रुपैयाँ राजस्व तिरेको छ । होटल अलफ्टमा रहेको बाल्डो डाइनेष्टी इन्टरटेन्मेन्टले ६ करोड ६० लाख रुपैयाँ राजस्व तिरेको छ ।

मन्त्रालयका अनुसार विभिन्न स्थानमा क्यासिनो चलाउने सेन्ट्रल मिडिया प्रालिले सोमबार ४ करोड बुझाएसँगै यो वर्ष राजस्व ७५ करोड ४५ लाख रुपैयाँ संकलन भएको हो ।

Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !