आज युएईलाई हराए ८ वर्षपछि नेपाल फेरि विश्वकपमा

RONB Update - Reporter
0
१० फागुन, काठमाण्डौँ (Source: Setopati): नेपाली क्रिकेटका लागि मंगलबार अर्को इतिहास रच्ने मौका छ। मंगलबार ओमानमा हुने टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपाल टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। हारले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ। यसपटकको टी-२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ।

यो अवसर नेपाललाई ८ वर्षपछि आएको हो। नेपालले पछिल्लो पटक सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो। त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। पछिल्लो १० वर्षमा पाँचौ पटक विश्वकप छनोट खेलिरहेको नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाउन समानस्तरको प्रतिद्वन्द्वी युएईलाई हराउन सहज भने छैन।

UAE Lai Haraya 8 Barsapaxi Nepal Feri T20 Worldcup Ma

युएईले समूह चरणमा टेस्ट टिम आयरल्यान्डलाई १८ रनले पराजित गरेको थियो। यस्तै विश्वकप छनोटअघि ओमानमै भएको चार देश सम्मिलित टी-२० सिरिजमा युएईले नेपालमाथि २५ रनको जित निकालेको थियो। नेपाली बलरमाथि हाबी भएको युएईले १९२ रन जोडेको थियो। युएईविरूद्धको खेलपछि भने नेपाली बलर आफ्नो प्रदर्शनमा सुधार ल्याएका छन्। कप्तान सन्दीप लामिछानले प्रत्येक खेलमा विकेट लिइरहेका छन्। तीव्र गतिका बलरहरू कमलसिंह ऐरी, अभिनास बोहरा र जितेन्द्र मुखिया पनि फर्ममा छन्।

ब्याटिङमा ओपनर कुशल भुर्तेलले समूह चरणमा फिलिपिन्सविरूद्ध शतक हिर्काएका थिए। दीपेन्द्रसिंह ऐरी ब्याटिङसहित बलिङमा पनि जमेका छन्। समूह चरणका तीनै खेलमा जित हात पारेकाले नेपालको मनोबल उच्च छ। नेपालले सन् २०१२ मा युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो। 

नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो। सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो। सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट भएको थियो। जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। १२ टिमको स्थान पक्का भइसकेको अवस्थामा बाँकी चार टिमका लागि विश्व छनोट हुनेछ। ओमानमा जारी छनोटबाट दुई टिमले विश्वकपमा स्थान बनाउने छन्। खेल नेपाली समयअनुसार मंगलबार दिउँसो ३:४५ मा सुरू हुनेछ।

२०२२ टी–२० विश्वकप (जम्मा- १६ टिम)

आयोजक - अस्ट्रेलिया
आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका- ११ टिम 
  • अफगानिस्तान
  • बंगलादेश
  • इंग्ल्यान्ड
  • भारत
  • नामिबिया
  • न्युजिल्यान्ड
  • पाकिस्तान
  • स्कटल्यान्ड
  • दक्षिण अफ्रिका
  • श्रीलंका
  • वेस्ट इन्डिज
ओमानमा जारी विश्व छनोट समूह ए – २ टिम
विश्व छनोट समूह बी - २ टिम

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !