रुस-युक्रेन युद्धले विश्वभर भोकमरीको खतरा

RONB Update - Reporter
0
०७ चैत्र, काठमाण्डौँ (Source: Onlinekhabar): रुस र युक्रेनबिचको जारी युद्धका कारण विश्वको तेल र ग्यास बजार मारमा परिरहेको छ । यति मात्रै होइन, युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता व्यक्त हुन थालेको छ । ‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुनबाट रोक्नुपर्छ’, राष्ट्रसंघका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै भनेका थिए । त्यसअघि विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिएका थिए ।

‘युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुग्न सक्छ’, बिस्लेले भने, ‘आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रुपमा प्रभावित बन्न सक्छ ।’ सोमबार ब्रसेल्समा फ्रान्सका कृषि मन्त्री जुलियन डेनरमान्डीले पनि विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेतावनी दिएका छन् । यसैबीच, मध्यपूर्व र उत्तरी अफ्रिकाको खाद्यान्न संकट थप गरिरिने ह्युमन राइट्स वाचले चेतावनी दिएको छ ।

‘मध्यपूर्वी तथा उत्तरी अफ्रिकी मुलुकमा कृषिजन्य उपज निर्यात गर्ने प्रमुख मुलुकमा युक्रेन र रुस पर्छन्’, ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ, ‘युद्धका कारण व्यवधान सिर्जना हुँदा खाद्यान्नको बढ्दो मूल्य एवं गरिबी झप खराब बन्न सक्छ ।’ विश्वमै धेरै गहुँ, मकै र जौ उत्पादन हुने देशमा रुस र युक्रेन अग्रपंक्तिमा छन् । युक्रेन र दक्षिण-पश्चिम रुसलाई युरोपको अन्न भकारीसमेत मानिन्छ । विश्वभर हुने गहुँ निर्यातमध्ये यी दुई देशले ३० प्रतिशत हिस्सा ओगट्छन् । तर दुबै देश युद्धमा होमिएपछि यसको असर खाद्यान्नमा पर्न थालेको हो ।

Rus Ukraine Yuddhaley Bishowbhar Bhokmariko Khatara
Rus Ukraine Yuddhaley Bishowbhar Bhokmariko Khatara

त्यस्तै, विश्वभर उत्पादन हुने सूर्यमुखी तेलमध्ये ८० प्रतिशत रुस र युक्रेनमा उत्पादन हुन्छ । युक्रेन मकै निर्यात गर्ने विश्वकै चौथो ठूलो देश हो । तर त्यहाँको सरकारले मार्च ९ मा एक प्रस्ताव पारित गरी गहुँ, मकै, मासुलगायतका वस्तु निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । युद्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ । त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । फलस्वरुप, संसारभर खाद्यान्न र रासायनिक मलको भाउ बढ्न थालेको हो । – एजेन्सीको सहयोगमा

Source Link: Onlinekhabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !