नयाँ सत्रको विद्यार्थी भर्ना वैशाखमा, जेठ १ देखि पठनपाठन

RONB Update - Reporter
0
२२ चैत्र, काठमाण्डौँ (Source: eKantipur): शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको छ । यसअघि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिएका थिए । केन्द्रले भने जेठ १ देखि पठनपाठन थाल्ने गरी शैक्षिक सत्र अघि बढाउने निर्णय गरेको छ । ‘वैशाखभर विद्यार्थी भर्ना गरिसक्ने र जेठ १ बाट कक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएका छौं,’ केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले भने ।

कोभिड महामारीको दोस्रो र तेस्रो लहरका कारण चैत मसान्तमा सकिने शैक्षिकसत्र एक महिना पर धकेलिएको हो । चालु शैक्षिक सत्र गत असार १ मा सुरु भएको थियो । जनक शिक्षा सामग्री केन्द्रले जेठ १ सम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाएको छ । जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको छ । कक्षा १–३ को किताब निजी पब्लिकेसनले छपाइ बिक्रीवितरण गर्दै छन् । केन्द्रले हालसम्म १ करोड ५५ थान पाठ्युपस्तक छापिसकेको जनाएको छ । ‘अब करिब ४० लाख थान पुस्तक छाप्न बाँकी छ,’ जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले भने ।

Admission Open for New Academy Year 2079 from Baishakh

पाठ्यपुस्तक छाप्नै बाँकी रहेकाले भर्नाकै बेला (वैशाखमा) सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने भएको छ । जनक शिक्षाले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छापिरहेको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा ढिला हुने आशंका शिक्षा मन्त्रालयका अधिकारीहरूले गरेका छन् । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले पाठ्यपुस्तक छपाइ प्रभावित नहुने दाबी गरे । ‘पाठ्यपुस्तक र मतपत्र छपाइ फरक/फरक मेसिनमा सँगसँगै हुन्छ,’ उनले भने, ‘दुर्गमका विद्यालयमा पाठ्यपुस्तक ढुवानीसमेत सुरु गरिएको छ ।’

केन्द्रले स्थानीय तह र विद्यालयहरूलाई विद्यार्थी भर्ना र विद्यालय स्वागत कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रले भर्ना कार्यक्रमका लागि ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नारासमेत तय गरेको छ । शतप्रतिशत बालबालिका तोकिएको समयमा नै विद्यालय भर्ना गर्ने पालिकाले विद्यालयबाहिर बालबालिका नरहेको स्वघोषणा गर्न सक्नेछन् । अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी उनीहरूको पढाइ निरन्तरताको व्यवस्था गर्न पनि केन्द्रले पालिकाहरूलाई आग्रह गरेको छ । सरकारले २०७५ मा अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी उनीहरूको पढाइमा सहयोग गर्ने कार्यक्रम घोषणा गरेको थियो । शिक्षा मन्त्रालयका अनुसार आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर साढे ९३ प्रतिशत छ । उक्त तहमा विद्यार्थीको टिकाउ दर ७९ प्रतिशत मात्रै छ ।

बोर्डले वैशाख ९ देखि एसईई सञ्चालन गर्दै छ । कोभिडका कारण दुई वर्षपछि बोर्डले तयार पारेको प्रश्नपत्र र तोकेको परीक्षा केन्द्रमा एसईई सञ्चालन हुँदै छ । अघिल्ला दुई वर्षमा विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कक्षा १–९ को परीक्षा पनि चुनावअघि नै सक्नुपर्नेछ । बोर्डले जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कोभिडका बेला दुई वर्ष होमसेन्टरमा कक्षा १२ को परीक्षा सञ्चालन गरिएकामा यस पटक बोर्डले तोकेका केन्द्रमा हुनेछ ।

Source Link: eKantipur

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !