कालो चस्माभित्र लुकेका बालेन शाह

RONB Update - Reporter
0
१७ बैशाख, काठमाण्डौँ (Source: Setopati): आगामी स्थानीय तह चुनावमा स्वतन्त्र उठेकामध्ये सबभन्दा धेरै 'लाइमलाइट' पाएका उम्मेदवार हुन् बालेन शाह। काठमाडौंको मेयर बन्ने सपना देखिरहेका ३१ वर्षीय बालेनको चर्चाले प्रमुख राजनीतिक दलहरूलाई समेत उनले आफ्ना उम्मेदवारको कति मत काट्लान् भन्ने चिन्ता थपेको छ। बालेनको निजी जीवन, उनको पृष्ठभूमि वा व्यक्तित्वका विविध पाटाबारे भने अहिलेसम्म मानिसहरूलाई थोरै मात्र थाहा छ। यसकारण थोरै थाहा छ कि, मिडियाले यी पाटाबारे अत्यन्त कम लेखेको छ।
  • काठमाडौंको मेयर बन्छु भन्ने बालेन को हुन्?
  • उनको पारिवारिक पृष्ठभूमि के हो?
  • उनलाई केले तानेर राजनीतिमा ल्याएको हो?
  • उनको ऊर्जाको स्रोत के हो?
  • सार्वजनिक रूपमा उनले अहिलेसम्म तय गरेको यात्राले के भन्छ?
  • सार्वजनिक रूपमा प्रकट भएको उनको व्यक्तित्व र व्यवहारले बालेनका जीवन मूल्य र मान्यताबारे के संकेत गर्छन्?
  • उनका कमजोरी र सबल पक्ष के-के हुन्?
बालेनको पूरा नाम बालेन्द्र शाह हो। बुबा रामनारायण शाह र आमा ध्रुवदेवी शाह। यो परिवारको पृष्ठभूमि राजनीतिक होइन। उनका बुबा आयुर्वेदिक डाक्टर हुन्। काठमाडौंको नरदेवीमा जन्मे-हुर्केका बालेन पेसाले इञ्जिनियर हुन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन्। भाउजू बैंकमा काम गर्छिन्। बहिनी चित्रकार हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। बालेन सानैदेखि संगीततर्फ झुकाव राख्थे। स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माका अनुसार बालेन राम्रो कविता लेख्छन्।

Kalo Chasma Bhitra Lukeyka Balen Shah

'सन् २००७/८ तिर उसले कविता लेखेर देखाउँथ्यो,' स्वप्नीलले सेतोपाटीसँग भने, 'राम्रो कविता लेख्थ्यो। पछि उसले र-बार्जको र्‍याप ब्याटलमा भाग लियो। त्यसले उसलाई चर्चामा ल्यायो।' बालेन पहिल्यैदेखि राजनीतिक र सामाजिक विषयमा चासो राख्ने स्वप्नील बताउँछन्। 'मेरो सांगीतिक समूहले राजनीतिक र सामाजिक विषयमा गीत गाउने र बनाउने गर्छ,' स्वप्नीलले भने, 'उसको पनि यस्ता विषयमा झुकाव थियो। सामाजिक सञ्जालमा राजनीतिक वा सामाजिक विषयमा उसले लेख्दा म समर्थन व्यक्त गर्थेँ।'  

काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस-टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ गर्दा नै बालेन राजनीतिक अवस्था देखेर 'फ्रस्टेट' थिए। बालेनसँगै इञ्जिनियरिङ पढेका रवीन भारतीका अनुसार पहिलो संविधानसभा निर्वाचनका बेला हुने नेपालबन्द लगायत घटनाले बालेन चिढिन्थे।

'नेताहरूले गर्ने राजनीतिक परिचालन र कामले बालेनलाई फ्रस्टेट बनाउँथ्यो,' रवीनले सेतोपाटीसँग भने, 'एकपटक प्रहरीले लामो कपाल पाल्न नपाइने नियम ल्याउँदा उसले 'प्रहरी प्रतिकार' भन्ने गीत निकालेको छ।' रवीनका अनुसार पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम 'वी फर कन्स्टिच्युसन' अभियानमा सहभागी हुन्थे। त्यसपछि उनी पढ्न भारत गए। बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। भूकम्पपछि पुनर्निर्माणको काममा उनी एउटा संस्थामार्फत् जोडिए।

पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए। बालेनकी श्रीमती सविनाका अनुसार ती इञ्जिनियरले बालेनमा राम्रै छाप पारे। 'ती फ्रेन्च इञ्जिनियरले तिमीहरूको देश साँस्कृतिक रूपमा धनी छ तर पनि यो ठाउँ कसरी कंक्रिटको जंगल जस्तो भयो भनेर सोधेका रहेछन्। त्यो कुराले उहाँलाई निकै समातेको थियो,' सविनाले सेतोपाटीसँग भनिन्, 'उहाँ काठमाडौंमा आधुनिकता र सँस्कृतिलाई कसरी सँगै जोड्ने भनेर कुरा गरिरहनु हुन्थ्यो।'

रवीनका अनुसार बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन्। नाकाबन्दीताका फेसबुकको 'एमआरआर' समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। त्यस्तै अर्को समूह 'दारी ग्याङ' ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे। र्‍याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए। उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना पनि राखेका थिए। विवेकशील र साझा पार्टी एक भएर छुट्टिएका बेला उनी उक्त पार्टीको सम्पर्कमा पुगेका थिए। त्यो बेलै उनले आगामी चुनावमा विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए। 

'बालेनजीले त्यति बेला मेयर उठ्न हाम्रो पार्टीको नेतालाई प्रस्ताव राख्नुभएको थियो,' विवेकशील पार्टीका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा सेतोपाटीसँग भने, 'त्यो बेला उहाँ र्‍यापरका रूपमा मात्र चिनिनु हुन्थ्यो। हामीले पहिला पार्टीको सदस्यता लिन सुझाएका थियौं।' बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे। 'उहाँले साढे दुई वर्षअघि मेयर उठ्छु भनेर फेसबुकमा लेख्दा उहाँका साथी र हामीले पनि जिस्कायौं,' बालेनकी श्रीमती सविनाले भनिन्।

काठमाडौंको मेयर पद भनेको कुनै कम्पनीको सिइओजस्तो भन्ने बालेनको तर्क छ। बालेनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा समेत काठमाडौंको मेयर पदलाई राजनीतिसँग तुलना गर्न नमिल्ने बताएका छन्। 'मेयरको पद राम्रो ज्ञान भएको मान्छेले लिनुपर्छ। सिइओजस्तो पोजिसन हो, राजनीतिसँग तुलना गर्न मिल्दैन भन्ने उसको तर्क छ,' बालेनका दाइ कुशलले सेतोपाटीसँग भने, 'कसैको दबाबमा काम गर्नु पर्दैन, आफ्नै मतदाताको काम गर्ने ठाउँ हो, व्यवस्थापन राम्रो गर्नुपर्छ भन्ने उसको बुझाइ छ।'

नेपालको राजनीतिक अवस्था देखेर निराश भएपछि बालेन राजनीतिमा आएको कुशल जिकिर गर्छन्। 'ऊ कसैले काम नगरेको देख्दा निराश हुन्थ्यो। आक्रोश देखाउँथ्यो,' कुशलले भने, 'ऊ कुनै घटनाले मेयर उठ्न आएको होइन। उसले आफूलाई तयार पारेको छ। पाँच वर्ष पहिलेदेखि नै तयारी गर्‍यो। अहिले उपयुक्त समय देखेर उम्मेदवारी दियो। उम्मेदवारीअघि हरेक क्षेत्रका व्यक्तिसँग भेटघाट र सरसल्लाह गरेर ज्ञान लिएको छ। क्षमता बनाएर मात्रै उम्मेदवारी दिएको छ।' सटिक र प्रस्ट बोल्न सक्ने बालेनको क्षमता छ। उम्मेदवारी दर्ताका दिन पत्रकारहरूले उनलाई दलहरूको मत काट्ने विषयमा सोधेका थिए। बालेनले सिधा जवाफ फर्काए, 'हो, म कांग्रेस, एमाले दुवैको भोट काट्न आएको हो। जित्न आएको हो।'

गायक स्वप्नील बालेनको बोल्ने शैली र तर्कशील क्षमतालाई नेतृत्वमा हुनुपर्ने गुण देख्छन्। 'एउटा नेता हुन साइकोलोजिकल विन चाहिन्छ,' स्वप्नील भन्छन्, 'म लिडर हुन सक्छु कि सक्दिनँ भन्ने कुरा मलाई नै थाहा नहुन सक्छ। जोसिएका बेला मलाई पनि यो बन्न मन लाग्छ भनेर बोलिदिन्छु। तर बालेन जुन तरिकाले अघि बढेको छ, उसले हरेक अन्तर्वार्ताहरूमा जीत हात पारिराखेको छ। उसमा नेतृत्व क्षमता छ भन्ने प्रस्ट देखिएको छ।'

बिस्तारै आम मानिसमाझ सार्वजनिक हुँदै गरेका बालेनको व्यक्तित्व कतिपय मानिसलाई भने बिझेको छ। बालेनका कतिपय व्यवहार र भनाइले उनको व्यक्तित्वको सम्भावित अर्को पाटोबारे पनि संकेत गर्छन्। राजधानीको प्रज्ञा भवनमा भएको एक कार्यक्रममा सहभागी हुने क्रममा बालेनलाई युवाहरूले सुरक्षाघेरा बनाएर हलभित्र प्रवेश गराए। जबकि बालेनलाई कुनै खतरा थिएन। न उनी हिँड्नै बाधा पर्ने तहका सेलेब्रेटी हुन्। युवाहरूको घेराभित्र हिँड्दा बालेन त्यसमा रमाएका देखिन्थे। उनलाई त्यो कति पनि अप्ठ्यारो लागेन, उनले त्यसलाई रोकेनन्।

त्यो भिडिओ सार्वजनिक भएपछि कतिपय मानिसले अहिले नै यस्तो कुरामा 'रमाउने' मान्छे पछि कस्तो नेता बन्ला भनेर टिप्पणी गरेका थिए। बालेनको पहिरनशैली पनि एक राजनीतिज्ञका लागि कम स्वाभाविक देखिन्छ। उनी सधैं कालो चस्मा लगाउँछन्। हलमा सम्बोधन गर्दा होस् वा कोठामा छलफल गरिरहँदा, कालो चस्मामै देखिन्छन्। मिडियालाई दिएका कैयौं अन्तर्वार्तामा उनले कालो चस्मा फुकालेका छैनन्, फुकाल्दैनन्।

राजनीतिज्ञले पत्रकार वा अरूसँग आँखा जुधाएर कुरा गर्ने हो। आम मानिसका आँखामा आँखा राखेर भरोसा दिने हो। सधैं आँखामा चस्माको पर्दा एउटा राजनीतिज्ञसँग मिल्ने कुरा होइन, अस्वाभाविक हो। भनिन्छ, राजनीतिज्ञको ओठ होइन आँखा बोल्छ। मान्छेको आँखाले ढाँट्दैन भनेर त्यसै भनिएको होइन। बालेनले सार्वजनिक रूपमा दिने कतिपय अभिव्यक्ति पनि स्वाभाविक लाग्दैनन्। उदाहरणका लागि, उनी आफू ९० हजार ८३५ मत ल्याएर निर्वाचन जित्ने बताउँछन्।

कुनै राजनीतिज्ञले म ८० हजार वा ९० हजार मत ल्याएर जित्छु भन्नु अस्वाभाविक होइन। त्यो भनेको लगभग त्यति मत भनेको हो। तर जब कुनै राजनीतिज्ञले तोकेर 'म ९० हजार ८३५ मत ल्याउँछु' भन्छ, उसले के आधारमा, किन त्यसो भनिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। कस्तो मनोविज्ञान भएको नेताले मैले सार्वजनिक रूपमा ठ्याक्कै अंक तोकेर आफूले ल्याउने मतको दाबी गर्नु जायज नै हुन्छ भन्ने ठान्छ? उसले आफूलाई तिलस्मी ठान्छ वा त्यसो भनेपछि मानिसले आफूलाई 'कन्फिडेन्ट' ठान्छन् भन्ने विश्वास गर्छ? वा सार्वजनिक रूपमा जे भनिदिए पनि हुन्छ भन्ने ठान्छ?

एउटा राजनीतिज्ञका रूपमा बालेन कुन मनोविज्ञानमा सवार छन्? मनोविद करुणा कुँवर राजनीतिमा लाग्ने मान्छेहरूमा कतिपय अवस्थामा 'ग्र्यान्डिअस आइडियाज' को अवस्था देखा पर्ने बताउँछिन्। यो अवस्थामा मान्छेले आफूलाई अरूभन्दा पृथक, क्षमतावान र अब्बल मान्न थाल्छ। 'म यस्तो गर्न सक्छु, मेरो क्षमता यति धेरै छ भन्ने लाग्छ। जे गरिराखेको छु ठीक गरिराखेको छु भन्ने लाग्छ। बढाइचढाइ गर्ने मनोविज्ञान बन्छ,' करुणा भन्छिन्, 'कहिलेकाहीँ काल्पनिक कुरा पनि गर्छ। जस्तै यति भोट ल्याउँछु भनेर तोक्नु पनि काल्पनिक कुरा हो। यस्तो अवस्था कतिपय राजनीतिक नेताहरूमा देखिन्छ।'

बालेनमा पनि आफूमाथि अति नै विश्वास देखिन्छ। राजनीति एक्लै पार लगाउँछु भन्नेमा छन् उनी। मेयरमा जितेर के-के गर्छु भन्ने उनको सूची छ। आफूले मेयर जितेपछि सबै काम एक्लै गर्न सक्छु भन्ने भान उनलाई छ। मेयर भनेको कम्पनीको सिइओजस्तो ठान्छन् उनी। सिइओका सबै निर्णय र निर्देशन चल्छन्। महानगरमा भने खासमा व्यवस्थापिका र कार्यपालिका हुन्छन्। व्यवस्थापिकाले बजेट र कार्यक्रम पास गर्नुपर्छ। पास भएको कार्यक्रमअनुसार मात्र मेयरले खर्च गर्न पाउँछ।

बालेन एक्लै मेयर उठेका छन्। उनको पार्टी छैन। उनको टिमबाट कोही पनि वडा अध्यक्ष वा सदस्यमा उठेको छैन। बिना टिमको मेयर बनेर केही पनि पार लगाउन सकिँदैन भन्ने उनले बुझेको देखिँदैन। उनलाई चिन्ने विवेकशील साझा पार्टीका एक नेता बालेनमा 'टिम वर्क' प्रति कुनै विश्वास नभएको बताउँछन्। 'उहाँलाई राजनीति टिम गेम हो भन्ने थाहा छैन,' ती नेताले भने, 'उहाँलाई टिममा कसरी कुरा गर्ने भन्ने पनि थाहा छैन। टिमको तागत र जटिलताबारे उहाँ अनभिज्ञ हुनुहुन्छ।'

टिमको जटिलता अर्थ्याउँदै उनले भने, 'बालेनले भोलि चस्मा खोल्दा हामीलाई घुरेर हेर्‍यो भनेर झगडा पर्न सक्छ। टिम बिना केही गर्न सकिँदैन।' उनले थपे, 'उहाँहरूको उपमेयर उम्मेदवार हुनुहुन्न। वडाध्यक्ष हुनुहुन्न। टिम भएपछि मात्रै त्यसको तागत र जटिलता थाहा हुन्छ। कसरी काम गर्ने, कसरी मिलाउने भन्ने थाहा हुन्छ।' बालेनलाई निर्वाचन परिचालनमा सघाइरहेकी श्रीमती सविना भने टिम नबनाउनुको कारण चुनाव चिह्नको समस्या भएको बताउँछिन्।

'टिम नै स्वतन्त्रमा उठ्दा फरकफरक चिह्न हुने भएकाले प्रचारमा समस्या हुन्थ्यो,' सविनाले भनिन्, 'एउटा मात्र उम्मेदवार र चिह्न प्रचार गर्न सहज हुन्छ भन्ने हाम्रो बुझाइ हो।' महिलाहरूको आत्मसम्मानका विषयमा बालेन कति सचेत र संवेदनशील छन् भन्ने प्रश्न पनि पछिल्लो समय उठेको छ। उनले र्‍याप गाउँदा प्रयोग गरेका शब्दलाई लिएर यो प्रश्न उठेको हो। 'र्‍याप ब्याटल' का दौरान उनले प्रयोग गरेका शब्दमा महिलाप्रति सम्मान वा संवेदनशीलता कति पनि देखिँदैन। हालसालै एउटा अन्तर्क्रियामा बालेनलाई सहभागीले यही प्रश्न सोधेका थिए।

जवाफमा बालेनले अमेरिकी र्‍याप ब्याटलको तौरतरिका पछ्याउँदा त्यस्तो भएको बताए। 'अमेरिकन र्‍याप ब्याटलमा यतिसम्मको सहनशीलता चाहिन्छ कि जुनसुकै लेभलमा गिरेर, उठेर वा हिँडेर होस्, आफ्नो अपोनेन्टलाई परास्त गर्न खोजिन्छ,' बालेनको जवाफ थियो, 'मलाई पछि मन नलागेर छाडेको हुँ।' संसारभर नै र्‍याप ब्याटलमा महिला वा अल्पसंख्यक वा कुनै खास जातजातिप्रति संवेदनहीन ढंगले प्रहार गर्ने गरेको पाइन्छ। त्यसलाई अनौठो मानिँदैन पनि।

तर एउटा प्रश्न भने यहाँ जबरजस्त रूपमा उठ्छ- के महिला वा अल्पसंख्यकप्रति सम्मान राख्ने र संवेदनशील मन भएको मानिस र्‍याप ब्याटल गएर 'यो संगीतको एउटा विधा हो' भनेर निर्धक्क महिलाहरूमाथि प्रहार गर्छ? 

पक्कै पनि त्यसो गर्न सक्दैन। त्यसैले बालेनले गाएका र्‍याप महिलाप्रति उनको दृष्टिकोण देखाउने आँखिझ्याल हुन्। अब बालेनको उम्मेदवारीले मेयरको निर्वाचनमा पर्ने प्रभावको पाटो हेरौं। उनले चुनाव जित्लान् वा अरू उम्मेदवारको मत मात्र काट्लान्? 

काठमाडौं उपत्यकामा दलीय मत मात्र छैन। यहाँ ठूलो संख्यामा 'न्युट्रल' मतदाता छन् जसमा बालेनले असर पार्न सक्छन्। यसअघि मेयरका लागि उम्मेदवारी दिएका रञ्जु दर्शना र किशोर थापाले काठमाडौंको मेयर पदमा राम्रो मत ल्याएका थिए। रञ्जुले तेश्रो धेरै मत पाएकी थिइन् भने किशोरले चौथो धेरै। अझ र्‍यापको लोकप्रियता र सामाजिक सञ्जालको उपस्थितिले बालेनलाई थप हौस्याएको छ।

तर चर्चालाई मतमा बदल्नु सानो चुनौती होइन। त्यसो त बालेनले आफूले ९० हजार ८ सय ३५ भोट ल्याउने दाबी गरेका छन्। विवेकशील पार्टीका नेता यसलाई बालेनको 'ओभर कन्फिडेन्स' भन्छन्। 'युवा भनेर रञ्जु दर्शनालाई २४ हजार भोट आयो, इञ्जिनियर भएकाले किशोर थापालाई १८ हजार मत आयो, अब त्यो दुबै मलाई आउँछ भनेर हिसाब गर्नुभयो,' विवेकशीलका ती नेताले भने, 'हामीले राजनीतिको रेखा यति सोझो हुँदैन भनिदिएका छौं।'

बालेनको उम्मेदवारीलाई दलहरूले युवापुस्ताको राजनीतिमा आकांक्षीका रूपमा मात्र बुझेका छन्। तर यस्ता उम्मेदवारले कुनै असर नपार्ने उनीहरूको विश्लेषण छ। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल बालेनको उम्मेदवारीलाई लहडको राजनीतिका रूपमा व्याख्या गर्छन्। 'अघिल्लो चुनावमा रञ्जु दर्शना आउनुभयो। ठूलो होहल्ला भयो। तर उनीहरू फेरि उम्मेदवार पनि हुन सकेनन्। अहिले उनीहरूको पार्टी कुन हो भन्ने अवस्था भयो। कहाँ छन् भन्ने थाहा नपाउने अवस्था छ,' रिजाल भन्छन्, 'बालेन शाह भन्ने पनि लहडका रूपमा आए। लहडले राजनीति चल्दैन। राजनीतिलाई प्रभाव पार्न सक्दैन।'

रिजाल आफ्नो पार्टीले नै अहिले युवाको विषय उठाइरहेको र अपडेटेड अवस्थामा रहेकाले कुनै उम्मेदवार मात्रले युवालाई आकर्षण गर्न नसक्ने बताउँछन्। त्यस्तै पढे-लेखका मान्छे राजनीतिमा नआएको भन्दैमा बालेनको उम्मेदवारीलाई पुष्टि गर्न नसकिने उनले बताए। पार्टीले काठमाडौंका वडा तहका उम्मेदवारसँग कुराकानी गर्दा बालेनका कारण चुनावमा असर खासै नपर्ने देखिएको उनले तर्क गरे। 'बालेनले काठमाडौंको इलिट भोटमा असर पार्छन्, हाम्रो मतदातामा खासै असर पार्दैनन्। बालेनले पाउने मत सम्भवतः कांग्रेसका मतदाताको हुन सक्छ,' रिजाल भन्छन्।

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान पनि काठमाडौंमा बालेनको उम्मेदवारीले खासै असर नपार्ने बताउँछन्। कोही व्यक्तिको बोल्ने क्षमता हुँदैमा काठमाडौंको चुनावमा असर नपर्ने उनको तर्क छ। 'मनमोहन भट्टराई काठमाडौंमा चुनाव हारेका छन्। उनी त्यति बेलाका गगन थापा थिए। जहाँ पनि उनको खोजी हुन्थ्यो,' प्रधान भन्छन्, 'तर मनमोहन केशव स्थापितसँग हारे। स्थापित स्थानीय र बुद्धमार्गी थिए। काठमाडौंमा कि नेवार-नेवारबीच प्रतिस्पर्धा हुनुपर्छ कि त गैरनेवारबीच हुनुपर्छ। अनि मात्र कम्युनल मतदान हुँदैन।'

प्रधान काठमाडौंमा यसपटक पनि सिर्जना सिंह र केशव स्थापितमध्ये 'एउटा नेवार' ले जित्ने तर्क गर्छन्। 'जतिसुकै हल्लाखल्ला भए पनि स्वतन्त्र उम्मेदवारको पक्षमा मतदान भएको छैन। स्वतन्त्र उम्मेदवार हाइलाइट भए पनि मत खस्दा दलगत आउँछ,' उनले भने, 'बालेनको मिडियामा मात्र हल्लाखल्ला हो।

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !