प्रहरीमा वरिष्ठ सई: पद बढ्यो, तलव घट्यो

RONB Update - Reporter
0
१५ पुस, काठमाण्डौँ (Source: Nepal Live): पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो। बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना भएपछि यी पदमा २० हजार भन्दा प्रहरी कर्मचारीको बढुवा समेत गरियो। तर, पद बढेसँगै फुली थपिए पनि तलब भने घटेर आएपछि पदोन्नती भएका कर्मचारी नै निराश बनेका छन्। यो समस्या वरिष्ठ सईको दर्जामा देखिएको छ।
Nepal Police Senior SI Salary
सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएका अधिकारीहरु अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब थाप्ने गरेका छन्। सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो। तर, अहिले उनीहरु वरिष्ठ सईमा बढुवा भएपछि २ ग्रेडको समेत तलब थप गरेर दिँदा पनि सईमा खाएको भन्दा २६२ रुपैयाँ कम, ४३ हजार ७३२ रुपैयाँ तलब थाप्दै आएका छन्। 

सरकारले गत साउन १ गतेबाट लागू गरेको नयाँ तलवमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९९८ रुपैयाँ छ। सईको भने ३४ हजार ७३० रुपैयाँ छ। तर, १ हजार १ सय ५८ रुपैयाँका दरले सई दर्जाका प्रहरी अधिकारीले ८ ग्रेडसम्म तलब थाप्ने गर्नेछन्। ८ ग्रेड तलब थाप्ने सईको कूल तलब ४३ हजार ९९४ रुपैयाँ हुन्छ। ८ ग्रेड तलब थापेका सईहरुको भन्दा कम अहिले वरिष्ठ सईको तलब हुने गरेको छ। वरिष्ठ सईमा २ ग्रेडमात्रै हुन्छ। १ हजार ३६७ रुपैयाँ ग्रेडका दरले वरिष्ठ सईको तलब जम्मा ४३ हजार ७३२ रुपैयाँ हुन्छ। जसकारण अहिले पनि ८ ग्रेड खाएका सईको भन्दा वरिष्ठ सईको तलव कम हुने गरेको हो। बढुवा भएपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने आशा देखेका उनीहरु वरिष्ठ सई भएका थिए। त्यसमाथि पनि सईमा खाएको भन्दा कम तलब भएपछि भने उनीहरु निराश भएका हुन्।

गत साउन १ गतेदेखि लागू भएको प्रहरीको तलबमान।

Nepal Police Salary
‘एक त बढुवा भएपछि राजपत्रांकित तृतीय श्रेणी हुने आशा थियो। तर, राजपत्रअनंकितमै रहनु परेको छ। अर्कोतर्फ तलबसमेत घटेर आउँदा मनोबल बढ्नुको साटो निराश हुनपरेको छ। थपिएको फुलीले समेत कुनै अर्थ दिएन’, एक जना वरिष्ठ सईले भने। यसबारे जिज्ञासा राख्दा प्रहरी हेडक्वार्टर भने तलबमानको विषय आफूहरुको नभएको भन्दै पन्छिने गरेको छ। कसरी यस्तो अवस्था आयो भन्ने प्रश्न राख्दा हेडक्वार्टरका कर्मचारी प्रशासन शाखाका एक अधिकारी भन्छन्, ‘तलबमानको कुरो तालुक मन्त्रालय र त्यससँग सम्बिन्धत अन्य मन्त्रालयहरुको हो। यस विषयमा हामीले जवाफ दिन सक्दैनौं। तालुक मन्त्रालयले यस्ता कुरामा बेवास्ता गर्दा यस्तो समस्या आएको हो।’

नेपाल प्रहरीमा भर्खरै वरिष्ठ सई, वरिष्ठ हवल्दार, सहायक हवल्दारको नयाँ पद सिर्जना गरिए पनि सशस्त्र प्रहरी बलमा भने यसअघि देखि नै यी पदहरु कार्यान्वयमा छन्। तर, सशस्त्रमा भने नेपाल प्रहरीको जस्तो समस्या छैन। सशस्त्र र नेपाल प्रहरीमा दर्जा अनुसारको तलबस्केल पनि समान छ। सशस्त्र प्रहरीले भने ग्रेडमा मिलान गरेकाले यस्तो समस्या आएको छैन। सशस्त्रमा सईले जम्मा ६ ग्रेड मात्रै पाउँछन्। प्रहरीमा भने सईले ८ ग्रेडसम्म थाप्छन्। ६ ग्रेड थाप्दा सशस्त्रका सईको कूल तलब ४१ हजार ६ सय ७८ रुपैयाँ हुन्छ। वरिष्ठ सईमा प्रहरीकै जस्तो २ ग्रेड राखिएको छ। २ ग्रेडसहित वरिष्ठ सईको तलब प्रहरीकै समान ४३ हजार ७३२ रुपैयाँ छ। जसकारण ६ ग्रेड थापेका सईको भन्दा वरिष्ठ सईमा २ ग्रेड खाएकाहरुको तलब २ हजार ५४ रुपैयाँ बढी हुन्छ।

Source Link: NepalLive

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !