रुस–युक्रेन युद्धको बहानामा नेपाली बजारमा छोइनसक्नु महँगी

RONB Update - Reporter
0
२६ फागुन, काठमाण्डौँ (Source: Naya Patrika): युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु महँगो बनाइएको छ । एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेललगायतको मूल्य अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अन्डा र दूधलगायतको मूल्यसमेत बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २६ माघमा प्रतिबोरा एक हजार ६ सय २५ रुपैयाँ रहेको जिरा मसिनो चामल एक महिनापछि एक सय ७५ रुपैयाँले बढेर एक हजार आठ सय पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर ३० रुपैयाँ बढेर दुई सय ७० पुगेको छ । त्यस्तै, भटमास तेल ३५ रुपैयाँ बढेर दुई सय ५५ तथा भुटेको तोरीको तेल ४० देखि ५० रुपैयाँले बढेर तीन सय ४० देखि तीन सय ८० रुपैयाँसम्म पुगेको छ ।

सबैखाले दालको मूल्य पनि बढेको छ । २६ माघमा प्रतिकेजी एक सय ६० रुपैयाँ रहेको मासको दाल २० रुपैयाँले बढेर एक सय ८० पुगेको छ । त्यस्तै, रहर दाल २० रुपैयाँले बढाएर एक सय ९० तथा मुसुरो दाल ३० रुपैयाँले बढाएर एक सय ६० मा बिक्री गरिएको छ ।  रुस–युक्रेन युद्धलाई लिएर खाद्यान्नको मूल्य अस्वाभाविक वृद्धि भएको खुद्रा व्यापार संघका अध्यक्ष अमूलकाजी तुलाधर बताउँछन् । ‘चामल, खानेतेल, दाललगायत खाद्यान्नको मूल्य अस्वाभाविक वृद्धि भएको छ,’ उनले भने, ‘कच्चा भटमास, तोरी र सूर्यमुखीको दानाको मूल्य पनि बढेको छ ।’

तरकारीमा अधिक मूल्यवृद्धि खुर्सानीमा भएको छ । हरियो खुर्सानी २६ माघमा प्रतिकेजी एक सय ३० रुपैयाँमा कारोबार भएकोमा ६५ रुपैयाँले बढेर एक सय ९५ रुपैयाँ पुगेको छ । सुकेको खुर्सानी पनि ६५ रुपैयाँले नै बढेर प्रतिकेजी तीन सय ७५ कायम भएको छ । नेपालमा खुर्सानीको उत्पादन ठप्पजस्तै रहेकाले भारतीय खुर्सानीमा नेपाली भान्सा निर्भर रहेको कालिमाटी फलफूल तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । लोकल काँक्रो २६ माघमा ९५ रुपैयाँ रहेकोमा प्रतिकेजी एक सय १० मा कारोबार भयो । घिउसिमी १० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ । फलफूलमा एभोकाडो मूल्य २५ रुपैयाँ वृद्धि भएर चार सय ५० पुगेको छ । एक सय २० रुपैयाँ प्रतिकेजी रहेको कागती दुई सय रुपैयाँ पुगेको छ । हरियो प्याज, काउली, गोलभेँडालगायत सिजनका तरकारीमा भने खासै मूल्य बढेको छैन । गाँजर, रायोको साग, भिन्डीलगायत तरकारीको मूल्य पनि स्थिर छ ।

Nepali Bajarma Chohinasaknu Mahangi

अन्डाको मूल्य पनि बढेको छ । अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार अहिले ठूलो अन्डाको प्रतिक्रेट चार सय १० रुपैयाँ र मध्यमको प्रतिक्रेट तीन सय ६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अन्डाको तीन सय ९५ र मध्यमको तीन सय ३५ रुपैयाँ प्रतिक्रेटमा कारोबार भएको थियो । ‘दाना बनाउने कच्चा पदार्थको मूल्य बढेसँगै अन्डा पनि महँगो पर्न गएको हो, अझै बढ्न सक्छ,’ अध्यक्ष केसीले भने । अन्डाको मात्रै होइन कुखुराको मासुको मूल्य पनि बढेको छ । कुखुराको मासु प्रतिकेजी ३० रुपैयाँ बढेर अहिले चार सय पुगेको छ । दाना उत्पादक संघका अध्यक्ष रोशन पुरी कच्चा पदार्थको मूल्य बढेसँगै दाना महँगिएको बताउँछन् । ‘मकै र भटमासको पिना तथा तेलको मूल्य बढेसँगै दानाको मूल्य बढेको हो । भारतबाट आउने मकैमा पाँच प्रतिशत र भटमासमा नौ प्रतिशत कर लाग्ने गरेको छ, जसले किलोमा तीनदेखि चार रुपैयाँसम्म बढ्छ,’ उनले भने । चालू आर्थिक वर्षको ६ महिनामा दाना बनाउन प्रयोगमा आउने भटमासको पिना ११ अर्ब ९९ करोडको आयात भएको छ । दूधको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ बढेर सय पुगेको छ ।


रुस–युक्रेन युद्धलाई बहाना बनाएर मूल्य बढाएको देखिएको छ: हरि पंगेनी, प्रवक्ता वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग

खानेतेल, खाद्यान्नलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भएको तथा सामग्रीसमेत अभाव भएको गुनासो आएको छ । रुस–युक्रेन विवादलाई बहाना बनाएर उपभोग्य वस्तु लुकाउने तथा अस्वाभाविक मूल्यमा बिक्री गर्ने विक्रेतालाई कारबाहीसमेत गरेका छौँ भने अनुगमनलाई दोब्बर बनाएका छौँ । हाम्रो अनुगमनले उपभोग्य वस्तुको मौज्दात आगामी दुई–तीन महिनालाई पुग्ने गरी पर्याप्त छ । उद्योगीसँग समेत छलफल गरेका छौँ । उद्योगीले कच्चा पदार्थको र इन्धनको मूल्य वृद्धि, ब्याजदर वृद्धिलगायतका कारण उत्पादन लागत बढेको बताएका छन् । यद्यपि, लागत बढे पनि नाफा कम गरेरै भए पनि तत्काललाई फ्याक्ट्री मूल्य नबढाउन उहाँहरू सहमत हुनुभएको छ ।

पेट्रोलियम पदार्थको भाउ अहिलेसम्मकै महँगो

पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पेट्रोल प्रतिलिटर एक सय ५० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ३३ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्य प्रतिब्यारेल एक सय ३० अमेरिकी डलरसम्म पुगेको छ । एक महिना अघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९२.६९ अमेरिकी डलर रहेको थियो । रुसले युक्रेनलाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चदरमा वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य पनि आकासियो

उपभोक्ताको भान्छामा छिनछिनमै प्रयोग हुने एलपी ग्यासको मूल्य पनि आकासिएको छ । पछिल्लो पटक नेपाल आयल निगमले २४ कात्तिकमा ग्यासको मूल्य बढाएको थियो । १५०० रुपैयाँ रहेको ग्यासको मूल्य ७५ रुपैयाँ बढाएर अहिले प्रतिसिलिन्डर १५७५ कायम गरिएको छ । ग्यासमा सरकारले आयल निगमलाई अनुदान दिँदै आएको छ ।

सुन र चाँदीको मूल्य हालसम्मकै महँगो

नेपाली बजारमा सुन र चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन छापावाल सुन प्रतितोला दुई हजार पाँच सयले वृद्धि भएर तोलाको एक लाख पाँच हजार पाँच सय पुगेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला एक हजार चार सय ५० रुपैयाँ पुगेको छ । 

दुई सातामै डन्डीको मूल्य ३० रुपैयाँ बढेर एक सय ३५ सम्म पुग्यो, कोइलाको मूल्य पनि दोब्बर भयो

नेपाली बजारमा डन्डीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । १००–१०५ प्रतिकिलो सम्म बिक्री भइरहेको डन्डीको मूल्य अहिले प्रतिकिलो एक सय ३५ सम्म पुगेको छ । त्यस्तै प्रतिकिलो २० रुपैयाँमा आयात भइरहेको कोइला अहिले ४० रुपैयाँ पुगेको छ ।

तीन कारणले मूल्य बढेको छ : विनोदकुमार सेठिया, उपाध्यक्ष नेपाल समुद्रपार निकासी पैठारी संघ

अहिले अन्तर्राष्ट्रिय रूपमै हरेक वस्तु तथा सेवाको मूल्य उच्चदरमा बढेको छ । नेपालमा पनि त्यसको प्रभाव देखिएको हो । नेपालमा वस्तुको मूल्य उच्च देखिनुमा मुख्य तीन कारण छन् । पहिलो, अन्तर्राष्ट्रिय बजारमै तयारी वस्तु तथा कच्चा पदार्थको मूल्य २५–३० प्रतिशतसम्मले बढेको छ । दोस्रो, सिपिङको लागत बढ्नु पनि हो । पछिल्लो एक वर्षमा सिपिङ लागत तीन सय प्रतिशतसम्मले बढेको छ । तेस्रो, नेपाल राष्ट्र बैंकले लिएको आयात निरुत्साहनको नीति पनि हो । राष्ट्र बैंकले वस्तुको आयात प्रतितपत्र (एलसी)मार्फत मात्रै गर्न पाइने तथा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यसले एकातर्फ वस्तुको आयात नै घटेको छ भने लागत पनि बढेको छ । यसरी नेपाली बजारमा वस्तुको भाउ उच्च देखिएको हो । अझ एक महिनापछि बजार भाउ महसुस हुने गरी बढ्ने देखिन्छ ।

पेट्रोलियमको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन


संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा कोटा तोक्न र सवारीसाधन सञ्चालनमा जोर–बिजोर लागू गर्न निर्देशन दिएको छ । सरकारले अहिलेसम्म पेट्रोलियम पदार्थको बिक्रीमा कोटा तोकेको छैन । तर, कोरोनाकालमा सवारीसाधन सञ्चालनमा जोर–बिजोर भने पटकपटक लागू गरेको थियो । यसका साथै पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिमाथि छलफल गर्न समितिले बुधबार बैठक राखेको थियो ।

बैठकमा समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी निश्चित परिमाणमा पेट्रोलियम उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएका हुन् । उनले भने, ‘तेलमा पनि सरकारले विभिन्न ट्याक्स लिँदै छ । त्यसलाई कम गरेर भए पनि जनतालाई सर्वसुलभ बनाउनुपर्ने देखियो । घरीघरी दाम बढाउनुको सट्टा खपत कम गर्ने बाटो पनि रोज्नुपर्छ ।’ छलफलमा कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले निगमले नाफा बाँड्दा अहिले घाटामा गएको बताएका थिए । उनको भने, ‘उद्योगहरूमा धेरै पेट्रोल, डिजेलको खपत छ । सरकारले ग्यास पेट्रोल, डिजेलमा यति घाटा छ भनेर सबैलाई जानकारी दिनुपर्छ, जनतालाई थाहा हुनुपर्छ ।’

सांसद सरिता गिरीले आयल निगम पनि घाटमा नजाने र नागरिकले पनि सर्वसुलभ रूपमा खरिद गर्न सक्ने वातावरण तयार गर्नुपर्ने बताइन् । विद्युतीकरणतर्फ सबैको ध्यान जानुपर्ने गिरीको भनाइ छ । माओवादी सांसद रामेश्वर राय यादवले तेलको खपत घटाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन् । संकट हुन्छ भनेपछि अहिलेदेखि नै योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

बैठकमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले पेट्रोलियमको व्यापारमा सरकार नोक्सानमा रहेको बताए । तेलको मूल्य अझ बढ्न सक्ने पनि उनले जानकारी गराए । उनले भने ‘नेपाल आयल निगम कसरी बचाउन सकिन्छ र तेललाई कसरी आपूर्ति गर्न सकिन्छ भन्ने सोचेर सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’ अहिले निगम २८ अर्बभन्दा बढी घाटामा भएकाले विभिन्न निकायसँग पैसा उठाएर अहिलेसम्मको खरिद गरेको तेलको रकम भुक्तानी गर्नुपर्ने उनले बताए । बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेका सबै नाफासमेत सकिएको बताएका थिए । निगम अनुशासनमै बसेर मूल्य वृद्धि गरेको पनि उनको भनाइ थियो ।

भट्टराईले आयल निगम प्रतिमहिना न्यूनतम दुई अर्ब र बढीमा ६ अर्बले घाटामा रहेको जानकारी दिए । ‘यो अवधिमा सञ्चित नाफासमेत सबै सकियो । हामीले डिलर, आयातकर्ता, एयरलाइन्ससँग लिएको निक्षेप रकम तेल खरिदमा प्रयोग गरिसक्यौँ,’ उनले भने ।

Source Link: Naya Patrika
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !